फेरि चर्चामा धादिङका धुर्व विक्रम मल्ल

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७२

dhurbaधादिङ । दक्षिण कोरियामा भएको १७औँ एसियाली खेलकुदको ‘एकल काता’तर्फ कास्य पदक जितेर नेपालकै लागि खाता खोलेकी विमला तामङकी प्रशिक्षक धुर्व विक्रम मल्ल फेरि चर्चामा आएका छन् ।
एकसाताअघि मिरा राईले फ्रान्समा सम्पन्न ८० किलोमिटर लामो ‘मोन्ट ब्लंक’ म्याराथनमा प्रथम स्थान हासिल गरे पछि मल्ल फेरि चर्चामा आएका हुन् ।
मिरा राईका प्रशिक्षक धु्रवविक्रम मल्ल ।
मिराको पछिल्लो सफलतामा यदि कोही दोस्रो व्यक्तिको हात छ भने सबैभन्दा बढी उनै मल्लकै छ । त्यसैले मिराको सफलतामा अहिले मल्ल गद्गद छन्, आफूले ‘ग्रुम’ गरेको खेलाडी विश्वस्तरको प्रतियोगितमा सर्वोत्कृष्ट भएकोमा । ध्रुवविक्रम मल्लको प्रशिक्षण र संरक्षणबाट मिराले विश्व रेकर्ड चुमेर आफ्नो ‘योग्यता’ संसारलाई देखाइदिएकी छिन् ।
नवलपरासीको हात्तीखोरस्थित पूर्वजनमुक्ति सेना (पिएलए)को चौथो डिभिजनको विशेष कार्यक्रममा जाँदा मल्लको मिरासँग पहिलोपटक भेट भएको थियो । पिएलएका खेलाडी टोलीलाई काठमाडौं ल्याएर ट्रेनिङ दिने गरेका मल्लले त्यसवेला मिरामा सम्भावना देखेका थिए ।
मिरा सिन्धुली शिविरबाट ‘अयोग्य’ घोषित गराइएर घर पठाइएपछि आफ्ना पुराना प्रशिक्षक मल्लको बालाजुस्थित ‘बालाजु कराँते डिडी एकेडेमीमा आइन् । खासमा पहिले मिरा कराते खेलाडी थिइन् । तर, मल्लले मिरामा लामो दूरी (म्याराथन) दौडन सक्ने क्षमता देखे । मल्लले मिरालाई म्याराथनतिर लाग्न सुझाब दिए । मल्लले ट्रेनिङ लिन सहयोग गरे ।
mira‘मिराको खेलको नेचरअनुसार उनमा देखिएको क्षमतालाई ध्यानमा राखी लामो दूरीको दौडमा ट्रेनिङ गराइदिने सोच आयो,’ मल्लले भने, ‘त्यही दिनको निर्णयले आज मिराले विश्वमै रेकर्ड बनाइन् ।’
तर ट्रेनिङ चलिरहेकै वेला मिरा अकस्मात् भोजपुरको सानुदुम्बास्थित घर गइन् । केही महिनापछि मात्र प्रशिक्षक मल्लको सम्पर्कमा आइन् । तर, यसपटक उनी प्रशिक्षणका लागि आएकी थिइनन् । वैदेशिक रोजगारीमा जानका लागि गुरुको अनुमति लिन आएकी थिइन्, हातमा मलेसियाको भिसा लागिसकेको पासपोर्ट बोकेर ।
मल्ललाई त्यो क्षण निकै नमिठो लाग्यो । मिराले ट्रेनिङलाई निरन्तरता दिन नसक्ने र रोजगारीका लागि मलेसिया जान भिसा आइसकेको बताइन् । मल्ललाई यो ठीक लागेन, उनले मिरालाई रोके । मल्लले भने, ‘एउटा क्षमता बीचैमा तुहिन नदिन मिराको खाने, बस्ने सबै व्यवस्था आफैँले मिलाएर मलेसियाको यात्रा रोकिदिएँ ।’ मल्लका अनुसार मलेसियाको भिसा आएर पनि नगएको भन्दै म्यानपावरले १२ हजार रुपैयाँ लिएर मात्रै मिराको पासपोर्ट फिर्ता गरेको थियो ।
प्रशिक्षक मल्लले मिरालाई आफ्नी बहिनी कवितासँगै राखेर खाने र बस्ने सम्पूर्ण व्यवस्था आफ्नै घरमा मिलाए । यसअघि मिरा आफ्ना साथीहरूसँग बस्ने गर्थिन् । मिरालाई एथ्लेटिक्सका प्रशिक्षक सुशील राणासँग भेटाइदिए । मल्लको सहयोगले खुसी बनेकी मिराले एक वर्षसम्म नियमित ट्रेनिङ गरिन् । उनी बिहान–बिहान रंगशालामा दौडिइन् । त्यसवेला स्याल्युट गोर्खा भर्ती केन्द्रमा प्रशिक्षण लिइरहेका युवाहरूसँग पनि लामो दूरीको दौडको अभ्यास गरिन् ।
त्यसबीचमा मिराले बेलायती नागरिक रिचार्ड बुलको सक्रियतामा आयोजना गरिएको काठमाडौंको रानीवनदेखि मकवानपुरसम्मको ५० किलोमिटर अल्ट्रा म्याराथन प्रतियोगितामा पहिलो स्थान हासिल गरिन् । त्यसपछिका कुनै पनि प्रतियोगितामा मिराले दोस्रो हुनुपरेको छैन । २६ अक्टोबर २०१४ मा इटालीमा भएको ५० किलोमिटर अल्ट्रा म्याराथन र ७ फेब्रुअरी २०१५ मा हङकङमा भएको ५० किलोमिटरकै एसियन च्याम्पियन अल्ट्रा म्याराथनमा प्रथम भएकी मिरा २६ जुन २०१५ मा फ्रान्समा भएको ८० किलोमिटर दूरीको विश्व च्याम्पियन प्रतियोगिता १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा पूरा गरी आफ्नो लक्ष मात्रै होइन, नेपालकै शिर उच्च राख्न सफल भइन् ।
सफलता चुमेलगत्तै मिराले प्रशिक्षक मल्ललाई म्यासेज गरिन्, ‘गुरुले गर्दा मेरो जिन्दगी बदलियो ।’ ‘मिराले यसो भन्दा निकै गर्व लाग्यो,’ मल्ल भन्छन्, ‘खेलाडीको क्षमता पहिचान गरेर प्रशिक्षण दिँदा सफलता चुम्न सकिँदो रहेछ भन्ने उदाहरण हुन् मिरा राई । लामो समयसम्म टिक्न सक्ने क्षमता रहेकी मिरालाई लामो दूरीको दौडमा प्रोत्साहन गर्दा सफलता चुम्छिन् भन्ने मेरो अनुमान अहिले सफल साबित भयो । नयाँ पत्रिका दैनिकमा प्रविण देवकोटाले लेखेका छन् ।