भूकम्पको भूराजनीति

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २८, २०७२

tikaram pokharelभूकम्पछि लगातार पराकम्पन आएर आजित र हतास भएकामध्ये एकजना फेसबुक प्रयोगकर्ताले मन बहलाउनका लागि व्यङ्ग्यात्मक भाषामा आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखे– ‘भारतीय प्लेट र इण्डियन प्लेट ठोक्कियो, तर नेपाली काँटा–चम्चाले दुख पाए । आखिर प्लेट, काँटा र चम्चाको दुनियाँमा पनि साँढेको जुधाइ बाच्छाको मिचाइ नै देखियो ।’ घटना प्राकृतिक, लेखाइ व्यंग्यात्मक भए पनि ती फेसबुक प्रयोगकर्ताको यो स्टाटसको हाम्रो जस्तो भूराजनीतिक अवस्था भएको देशमा गहिरो अर्थ छ । भूकम्पविद्हरुका अनुसार इण्डियन प्लेटले तिब्बतीयन प्लेटमा धक्का दिँदा नेपालमा भूकम्प जाने गर्छ । आखिर ठोक्किने नेपाली भूमिको गर्भ होइन रहेछ, भारत र चीनको भूमिको गर्भ रहेछ । तर हल्लिने मात्र हाम्रो भूमि भनेको सुन्दा नेपाल चाहिँ प्राकृतिक रुपमा पनि महाशक्ति राष्ट्रहरुको रणभूमि नै हो त भन्ने प्रश्न पनि उठ्दछ । आठ दशकपछि नेपालमा आएको ठूलो भूकम्प प्राकृतिक विषय भए पनि अब यसबाट निस्कने परिणाम विशुद्ध प्राकृतिक रहेनन्, रहने पनि छैनन् । राजनीतिका विविध आयामसँग यो जोडिन पुग्यो र भविष्यमा पनि राजनीतिसँगै जोडिएर जानेछ ।
भूकम्प जानासाथ सुरुमै उद्दार कार्यबाटै राजनीति सुरु भयो । नेपालमा भूकम्प गएको २ घण्टाभित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भारतीय मन्त्रिमण्डलको वैठक डाके र नेपालमा उद्दारका लागि भारतीय सरकारको सबै शक्ति नेपालमा लगाउने उद्घोष गरे । जब कि भारतले यस्तो घोषणा गर्दा थाइल्याण्डमा रहेका नेपालका प्रधानमन्त्री सुशील कोइरालाई भूकम्प आएको आधिकारिक खबर पनि सायद पुगेको थियो कि थिएन । आफ्नो देशका प्रधानमन्त्री बेखबर अर्को देशका प्रधानमन्त्रीले आफ्ना सेना हाम्रो देशमा परिचालन गर्नका लागि गरेको निर्णय हाम्रो देशको लागि कति लज्जास्पद कुरा थियो ?
भारतीय प्रधानमन्त्रीको आकस्मिक वैठकदेखि भारतीय सेना नेपाल छिरेको, विदेशी सेना नेपाल प्रवेश गराउँदा राष्ट्रपतिसँग सरसल्लाह नगरेको, भारतीय सेनाले नेपाली सेनासँग समन्वय नगरेको, भारतीय विमानहरुले विमानस्थल कब्जा गरेर अफ्ठेरो स्थिति सिर्जना गरेको, भारतले चिनको सीमानातिर हेलिकप्टर उडाएको, आफ्ना हेलिकप्टर उद्दारमा भन्दा पनि भारतीय पत्रकार बोकेर आफ्नो प्रचारमा लगाएको जस्ता समाचारहरु बारम्बार आइरहे । भारतीयहरुको अस्वाभाविक उपस्थिति चिनको लागि पनि प्रिय बन्न नसकेको देखियो । भारतीय उद्धार टोली मात्र होइन अन्य देशका उद्धार टोलीहरु पनि आलोचनाबाट अछुतो रहन सकेनन् । मानवीय उद्धारका कार्यलाई बढी प्रचारमुखी बनाइँदा र कतै न कतै राजनीतिसँग जोड्दा उद्दार जस्तो महान् कार्य पनि आलोनामुक्त र विवादरहित हुन नसक्नु दुखलाग्दो कुरा रह्यो ।
भूकम्पपछिको उद्दारमा त राजनीति भयो नै, राहत पनि राजनीतिबाट मुक्त हुन सकेन । कहिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एकद्वार प्रणालीबाट राहत वितरण गर्ने कुराले चर्चा परिचर्चा पायो भने कहिले सभासद्ले राहतको त्रिपाल बोकेर हिँडेको कुरा चर्चामा आयो । कहिले राहत सामग्री सदरमुकाममै थन्केको कुरा बहसको विषय बन्यो भने कहिले राहतमा बाइबलले साम्राज्य जमाएको कुराको विरोध भयो । त्रिपालको सट्टा जस्तापाता दिनुपर्ने कुरा होस् वा घर भत्केका पीडितलाई दिने रकमको परिणाम बढाउनुपर्ने कुरा होस्, घर भत्केकालाई घर बनाउन सरकारले बिना व्याज २५ लाखसम्म ऋण दिने कुरा होस् वा सरकार, गैरआवासीय नेपाली संघ, दातृ निकाय वा अन्य व्यवसायिक घरानाले घर नै निर्माण गरिदने कुरा नै किन नहोस् यी सबै राहत प्याकेज विवादमा तानिए । विवादमा तानिनुको कारण थियो राहतमा राजनीति ।
नेपालका कम्युनिष्टहरुले साम्यवादी शासनका लागि वर्षौँ सङ्घर्ष गरे । २००६ सालदेखि कम्युनिष्ट पार्टी स्थापना गरेर वर्गसंघर्षमा उत्रेका पुष्पलालले हुन् वा २०२८ मा झापा विद्रोहबाट साम्यवाद स्थापना गर्न तम्सेका तत्कालीन मालेहरु हुन् सबैका लागि साम्यवाद नारा मात्र बन्यो । माओवादीले एकदशक सशस्त्र द्वन्द्व गर्दा पनि साम्यवाद स्थापना गर्न सकेन । तर नेपालका कम्युनिष्टहरुले ६० वर्षभन्दा बढी समय सङ्घर्ष गर्दा ल्याउन नसकेको साम्यवाद ६० सेकेण्डको भूकम्पले ल्याइदियो । ‘राजा रङ्क सबै समान उसका….’ भने झैँ कतिको पालमुनि त कतिको सिङ्गो आकाशको छानामुनिको बास हुन पुग्यो । हिजोका दिनमा जो आलिशान महलमा बस्थे, आफ्नै घरको सफाइ गर्न र भाँडा माझ्न पनि टोलका गरिब गुरुवा खोज्थे पालमुनि र सडक चौरमा तिनै आफ्नो लुगा धोइदिने, घरसफा गरिदिने र भाँडा माझी दिनेहरुसँग एउटै लहरमा सुते । घर नभत्किएका र गोजीमा पैसा भएकाहरुले त खानासम्म फरक–फरक खाए होलान् तर जसको घर भत्किएको छ उसले खाना पनि राहतको एउटै खाना खायो । कति ठूलो साम्यवाद आयो एकै छिनमा । साम्यवाद आउन सम्पन्नता होइन सङ्कट चाहिने रहेछ, साम्यवाद सङ्कटको खेती हो सम्पन्नताको खेती होइन रहेछ भन्ने कुरो नेपाली राजनीतिमा साम्यवादको राजनीतिक नारा घन्काएर राजनीति गरिरहेकाहरुलाई अवश्य पनि भूकम्पले सिकाएर गयो ।
राजनीति अब कोरा राजनीतिक मैदानमा मात्र हुँदैन । अर्थ, शिक्षा, स्वास्थ्य, यातायात, कृषि सबैतिर हुन्छ । राजनीतिले नछोएका ठाउँ छैन । भूगर्वविद र ज्योतिषाचार्यहरुलाई पनि राजनीतिले छोयो । भूगर्भविद र ज्योतिषाचार्यमध्ये कसले चाहिँ भूकम्पको बारेमा सही सूचना दिने भन्ने अघोषित प्रतिस्पर्धा पनि देखियो । भूकम्पविद्का तर्कलाई चुनौती दिँदै ज्यातिषहरुका तर्कले नि समाजमा निकै खैलाबैला ल्यायो । भूकम्पविद्हरु अब ठूलो भूकम्प आउँदैन भन्ने तर ज्यातिषहरुले चाहिँ महाविपत्ति नै आउँछ भन्ने गर्दा सर्वसाधारण आतङ्कित बने । न त भूकम्पविदले भने झैँ पहिलो झड्का पछि फेरि ठूलो भूकम्प आएन न त ज्योतिषिले भने झैँ महाप्रलय नै आयो । आखिर दुवै फेल खाए । दुवै फेल भए पनि जनताको मनमा भने यस्ता उडन्ते दाबी र बहसले निकै आतङ्क जमायो । अमेरिकी भूकम्पमापन केन्द्रले र नेपालको भूगर्भमापन केन्द्रले भूकम्पको रेक्टर स्केल फरक–फरक दिएकोले पनि कुनचाहिँले दिएको सूचना सत्य हो भन्ने बहसले पनि ठाउँ पायो ।
अन्यौलपूर्ण यो अवस्थामा हरेक व्यक्तिका मनमा मानसिक द्वन्द्व चर्कियो । भूकम्पविद्हरुले भने झैँ पहिलो भूकम्प आउँदैन भन्ने कुरा विश्वास गरौँ भने माघ १२ पछि आएका अरु ठूला दुई भूकम्पले फेरि थप धनजनको क्षति गरायो । महावित्ति आउँछ भनौँ भने त्यो पनि आएन । खास कुरा के हो ? त्यो सर्वसाधारणले जान्नै पाएनन् । सही सूचना दिने सरकारी निकाय यसमा चुक्यो । त्यसैले धेरै सर्वसाधारण हल्लाका पछि लागे । अरु त अरु आफ्नो मनलाई आत्मविश्वासी बनाउनुपर्छ, नडराउनुस् भनेर दिनभरी प्रचारप्रसार गर्नेहरु पनि बेलुका पालमै सुते । बोलाई र गराइ बीचको फरक प्रष्टै देखियो । भूकम्पीय दृष्टिले नेपालको भूमि जति जोखिमपूर्ण र अस्थिर छ त्योभन्दा सयौँ गुना नेपालको राजनीति अस्थिर छ र राजनति जति अस्थिर छ त्यसको अर्को सयौँ गुाा नेपालीको मनमस्तिस्क अस्थिर छ भन्ने कुरा भूकम्पले प्रष्टै देखायो ।
जलराजनीति, जङ्गलराजनीति, जमिनराजनीति त विगतदेखि नै हामीले देखेकै हो । यसपटक भूकम्प पनि राजनति बनेर आयो । हिजो हामी भूराजनीति भनेको भौगोलिक बनावटका कारण हुने राजनीति बुझ्थ्यौ, अब त्यति बुझाइले मात्र नपुग्ने भयो भूराजनीति भनेको भूकम्पराजनीति पनि बुझ्नुपर्ने भयो । गर्न नपर्ने ठाउँमा पनि राजनीति गर्ने नेपाली मानसिकता र नियतिमा आखिर भूकम्प पनि राजनीतिभन्दा टाढा हुन सकेन । भौगोलिक रुपमा पनि हामी दुई ढुंगा बीचको तरुल भएर रहनु, आर्थिक र प्राविधिक रुपमा कमजोर हुनु, हाम्रो मानसिकतामा पनि विदेशी नभै हामी आफैँ सक्दैनौ भन्ने मानसिकताले जरा गाड्नु जस्ता कारणले नेपाली भूमि विदेशीको राम्रै क्रिडास्थल बन्यो । नेपालीका लागि भूकम्प अभिसाप बनेर आयो, तर यही भूकम्प कसैका लागि भूसामरिक महत्वको अध्ययन गर्ने सुवर्ण मौका बन्यो । पहिले हस्तक्षेपका लागि हामीले नै स्वागत ग¥यौँ । अनि पछि यो नाङ्गो हस्तक्षेपको पीडा टुलुटुलु हेरेर बस्न बाध्य भयौँ । आफूले मैदान दिएपछि त खेलाडीले खेल खेल्ने नै भयो नि होइन र ?