छर्छ सध्धै अशान्ति ?

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २५, २०७२

लैनो भैंसी बनाए , कतिपय जनले , चोर भूकम्पलाई ।
आफ्नै छाना र खाना , वसन सब नयाँ , बन्न गो कम्प आई ।।
धेरैका गास बासै , वसन छिनिदियो , घोर भूकम्प आई ।
लैनो भैंसी बनाए , अभिजन जतिले , चोर भूकम्पलाई ।। १।।

एन्जीओकर्मी मोटा , कतिपय सुकिला पुस्ट सर्कारी मान्छे ।
पीडामा तड्पिएका , दुखित जन सबै , तुच्छ रोगी मगन्ते ।।
कुण्डी ( कमन्डलु ) मात्रै बनायौ , जन — दु:ख अगुवा , पेट आफ्नै भरेर ।
कस्तो सर्कार हाम्रो , अधम दलपति , भागबन्डा गरेर ।। २।।

कस्को छेउ गुनासा , उजुर अब गरम् , सुन्छ को आई पीडा ।
हामी फोटो र खोटो , अभिजनजतिको , अग्लिने तुच्छ क्रीडा ।।
पर्जा ,रैती बनेरै , कति दिन दुहिनू , ठालुकै मोजमस्ती ।
नेता यी नामधारी , उडुस र उपिया , छर्छ सध्धै अशान्ति ।। ३।।