भुकम्प पछि धादिङका चेपाङको समस्या

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २५, २०७२

राजन अधिकारी
धादिङ । धादिङको दर्जनौं वस्तीहरु वैसाख १२ गतेको भुकम्पका कारण जोखिममा परेका छन । वस्ती माथि र वस्ती मुनिका जमिनहरु भुकम्पका कारण फाटेको र पहिरो जाँदा वस्तीहरु जोखिममा परेका हुन । दक्षिण धादिङको पनि अति विकट गाउँका जमिनहरु भुकम्पले फाटीँदा जोखिम अझ बढेको छ । अझ आदिवासी जनजाति भित्रको पनि अति सिमान्तकृत चेपाङ समुदायकोमा बसोवास रहेको धुुषा, जोगिमारा, माहादेवस्थान, पिण्डा लगायका chepangविकट वस्तीहरु अत्यन्तै जोखिममा रहेको छ । माहादेवस्थान गाउँ विकास समितीका सचिव रमेश पौडेलका अनुसार गाविस भित्रका ब्रुसवाङलगायतका गाउँहरु जोखिममा परेको छ । “हाम्रो गाविस को वडा नं. ३को बु्रसवाङ, त्यस्तै मासखर्क लगायत गाउँ उच्च जोखिममा रहेकाले यहाँ वस्ती वसाल्न हुने की नहुने भन्ने अध्ययन गर्नका लागी ध्वस्त भएका घरहरुको पुनर्निमाणको लागी गाविसले जिल्ला दैविक प्रकोप तथा उद्धार समिति लाई सिफारी गरेको छ, जिल्लाका धेरै गाविसमा यस्तै समस्या आएकोले समय लाग्ने दैविक प्रकोप तथा उद्धार समितीले हामीलाई भनेको छ ,”उनले भने ।
भुकम्पका कारण महादेवस्थानका ब्रुसवाङ, पण्डीत खर्क, लाईपुर खर्क, सिउडीवार, सिमटार, कितराङ, धुषाको वोमराङ, राकसिराङ, झोर्ले र जोगिमाराको औवाङ, भारपाङ, पिपलडाँडा पन्चलिंग, तल्लो ओरवाङ लगायतका वस्तीहरु जोखिममा परेका छन् । त्यस्तै गरी सँगै जोडिएको मकवानपुरको लोथर गा.वि.सको कानराङ, नयाँ गाउँ, माथिबाट धादिङको जोगिमारा मासखर्कमा गई रहेको सुख्खा पहिरोका कारण अहिले सम्म पनि स्थानियहरु त्याहाँ जान सकेको छैनन् । धादिङ सँगै जोडिएको मकवानपुरका थुप्रै वस्ती र चितवनका वस्ती समेत जोखिममा परेका छन् । स्थानिय सरिता चेपाङले भनिन् “पहिरो जान्छ, घर जान पनि सकिदैन, हाम्रो त पहिरो भन्दा तल पानी लिन जानु पर्छ, ३ घण्टा लाग्छ, पानि लिन जाँदा पहिरोले पुरिने होकी भन्ने डर लाग्छ,”। त्यस्तै अर्का सुकमान चेपाङको पनि वेदना उस्तै छ । गाउँ ध्वजा ध्वजा भए पछि कहाँ बस्ने चिन्तामा छन् उनि “डाँडो पनि चर्काेको छ, वारीका पाटामा पनि ध्वजा फटेको छ , कहाँ वस्ने के खाने ठेगान छैन, घरमा भएको अन्न पनि पुरीयो घर भास्सिएर, तल दविएको छ हाम्रो घरमा वुनेर राखेको थुन्चे पनि छैन, अब कति खेर मरिने हो थाहा छैन, वसेको ठाउँ पनि चिरीएको छ, पाल मुनी वस्न पनि डराई डराई वस्नु पर्छ, सरकारले हामीलाई कतै वास दिए हामी जाने थियौं,” आँशु झार्दै भन्दै थिए ।
यसरी गाउँ वस्तीमा भुकम्पका कारण सुख्खा पहिरोको जोखिम वढेपछि स्थानिय निकाय गाविसले जिल्ला दैवि प्रकोप तथा उद्धार समितीलाई तत्कालै जानकारी गराएको गाविस सचिव रमेश पौडेलले जानकारी दिएका छन् । तर जिल्लाका धेरै गाउँ वस्तीमा यस्तै प्रकारको जोखिम धेरै भएकोले कतिवेला सुनुवाई हुने हो त्यो भने निश्चित छैन ।
भुकम्पले जमिन फाटीने, सुख्खा पहिरो जाने पहराका ढुँगाहरु खस्ने हुन थाले पछि चेपाङ समुदाय आतंकित वनेका छन् । तर जोखिम कति हो कति क्षति गर्छ भन्ने भुगर्भविद्को टोली अझै गाउँ–गाउँ सम्म पुग्न सकेको छैन । गएको टोली समेत सजिलो ठाउँमा हेरेर फर्कीने गरेको स्थानिय समाजसेवी तथा पिपल भञ्ज्याङ मा.वि. महादेवस्थाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खेम भुजेलले जानकारी दिनु भयो ।
वैसाख १२ गतेको भुकम्प र त्यस पछिका पराकम्पनका कारण धादिङका थुप्रै जमिन फाटिने, भासिने र सुख्खा पहिरो गई रहेको छ । यस कारण वर्षातको समयमा ठुलो समस्या निम्तन सक्ने अनुमान स्थानियको छ । यस तर्फ वैलैमा प्रभावकारी कदम नचाले अर्काे विपत्ति भित्रने खतरा छ ।
पृथ्वी राजमार्ग लाई हेरेर टोलाई रहने नजिकै देखिने दक्षिण तिरका डाँडाका टुप्पाहरुमा पुग्न भने लगभग एक दिन नै लाग्छ । यि वस्तीहरुमा अति सिमान्तकृत चेपाङ समुदायको मात्र वसोवास छ । देशभर करिव ६८ हजार जनसंख्या रहेको यस समुदाय नितान्त जंगली कन्दमुलबाट मात्र जिवीको पार्जन गर्दथ्यो । जंगली सिकार र जंगली वसोवासबाट ब्यवस्थित वसोवास तर्फ उन्मुख भएको करीव ३ दसक मात्र पुग्दै छ । कति पय त अझै ब्यवस्थित बसोवासमा लाग्दै छन् । ब्यवस्थित बसोवासका लागी राज्यले पनि त्यो समुदायका लागि घरवास कार्यक्रम ल्याएको थियो तर वैसाख १२ गतेको भुकम्पले यीनीहरुमा पलाउन लागेको आशाको पालुवा निमोठी दिएको छ ।
गिठा, भ्याकुर, वन तरुल,भर्लाको पात, चमेरा, अरिङगाल जस्ता वन्य जन्तु र कन्दमुल बाट आफ्नो पेट भर्ने र जिविको पार्जन गर्ने यो समुदाय केही वर्ष अघि देखिमात्र स्थाई वसोवासमा आएको हो । अहिले पनि यो समुदायको वसोवास र जग्गा जमिन धादिङ, मकवानपुर, चितवन, गोर्खा लगायतको जिल्लाको विकट डााडाँहरुमा छ । यहाँ मकै, कोदो, जौ, फापर,तागुलो,जुनेलो लगायतका वाली मात्र उब्जन्छन् । पछिल्ला दिनहरुमा डोको, मान्द्रौ, भकारी बुन्ने र तरकारी वालि मार्फत नगद आम्दानीका लागी कोशिस गरिरहेका चेपाङ समुदाय आफ्नो वल्ल वल्ल बनाएको घर भत्कने र वारीका पाटा फाटेर पैरो जान थाले पछि चिन्तित बनेको छन् ।
यतिवेला जंगलबाट काठ बटुलेर ल्याई आफैंले बुनेको मान्द्रोले वेरेर बनाएको छाप्रो होस वा राज्यको घरवास कार्यक्रम अन्र्तगत बनेको र वन्दै गरेका घर होउन सवै भत्किएका छन ।
धादिङ हुदै ठुल्ठुला विजुलीका पावरहरु काठमाण्डौं भिन्त्रन्छन् भारत देखि तर यही हाईटेज्सन लाईनको जोगिमारा–१ को वेलडाँडामा जमिन फटिँदा हाईटेन्सनको पोल समेत जोखिममा छ । साथै नजिकै को लैकाप र वरवास गाउँ पनि धादिङको जोगिमारा माहादेवस्था, धुषा लगायतका चेपाङ समुदाय आफ्नो डाँडा मुनिबाट हिडेको गाडी सँग आत्तिने मात्र होईन घर माथिबाट हिडी रहेको विद्युतको प्रवाहले के काम गर्छ त्यो पनि कत्तिलाई थाहा छैन । राजमार्ग आईपुग्न ७–८ घण्टा लाग्छ उनिहरुलाई । अझ दैनिक उपभोग नगरी वाच्नै नसकिन पानिको लागी समेत ३ घण्टा भन्दा वढी हिडेर जानु पर्ने वाध्यता छ, महादेवस्थान मासखर्कका ३२ घर चेपाङ समुदायलाई । मासखर्कका चेपाङ समुदाय छिमेकी जिल्ला मकवानपुरको लोथर गाविसमा रहेको चुनिया धाराबाट ४ घण्टा लगायर पानी बोकेर ल्याएको पानिले आफु मात्र होईन आफुले पालेको वस्तुको समेत तिर्खा मेटाई रहेका छन ।
मास खर्कमा मात्र होईन महादेवस्थान कै ब्रुसवाङका चेपाङ समुदायको पनि पिडा उस्तै छ । बु्रसवाङका ३१ घरका चेपाङ समुदाय पनि छिमेकी जिल्ला मकवानपुरकै लोथरको तिसीर खोला बाट ३ देखि ४ घण्टा लगायर पानि बोकेर ल्याउछन् । यो वैसाख १२ गतेको भुकम्प पछि सवै भन्दा वढि समस्या पानि खानै नपाएर भएको उनिहरुको गुनासो छ । भुकम्पले पनि लिन जाने बाटो माथिबाट सुख्खा पहिरो गई रहेको कारण यस्तो समस्या परेको उनिहरुले बताए । पानी लिन जाने बाटो नै पहिरोले पुरे पछिअझ मारमा परेको स्थानिय सानुमान्छा चेपाङले बताए । “जो भाको गाई वस्तुलाई पनि पानी त्यहींबाट ल्याउनु पर्छ, पानिको लागी पनि २ घण्टा लाईनमा बस्नु पर्छ, कसरी जिवन चलाउने पत्तो छैन,”उनले भने ।
विगत देखि नै ठुलो समस्या झेल्दै आएको चेपाङ समुदाय भुकम्प पछि झन् ठुलो समस्यामा परेको छ । भुकम्पमा परि धादिङमा मात्र ३ जना चेपाङको ज्यान गएको छ । अझ भुकम्पको कारण जमिन फाटिने, भासिने र सुख्खा पहिरो जाने हुन थाले पछि जोखिम अत्यन्तै बढेको छ, त्यसैले तत्काल वस्ती सार्नु प¥यो भन्नुहुन्छ नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ । “यहाँको चेपाङ वस्तिलाई सरकारले चाँडो भन्दा चाँडो सार्नु पर्छ, किनकी यहाँ कहिले र कतिवेला पहिरो जाने ठेगान छैन, र कतिको क्षछि गर्छ, यो गाउँको अध्ययन गरि चेपाङ समुदायलाई भयवित हुनु सँगै उनिहरुको रक्षाको लागी सरकार सँग चेपाङ सँगको तर्फबाट माग गर्दछु ।”
हुनत दैनिक ३÷४ घण्टा लगाएर पानी बोकेर आफ्नो र आफुले पालेको जनावारको तिर्खा मेटाउनु पर्ने बाध्यता भुकम्प पछिको होईन । चेपाङ वस्तीका अधिकांश डाँडाहरु फाटिएको च्यातिएको र सुख्खा पैरोले वस्तीहरु उच्च जोखिममा परि रहेको वेला जोखिम कस्तो हो र त्यस पछिको समाधान वारे छिटो अध्ययन गर्नु र वस्ती सार्नु पर्ने भए त्यसका लागी आवश्यक कदम चाल्न तत्कालै अघि बढ्नु पर्ने देखिन्छ ।