जनताका पूँजी : कृष्ण सेन ‘इच्छुक’

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १३, २०७२

एउटा महान शहीद जो आफ्नो निष्ठा र आदर्शमा दुश्मनसँग एकरति नझुकी बरु आफै मृत्युमा लटकिन सहर्ष तयार भयो । त्यही क्रान्तिकारी योद्धाको नाम हो– कृष्ण सेन ‘इच्छुक’ ।Krishna-Sen1-jpeg-225x300
उनलाई नेपाली आकाशको रातो ताराको रुपमा पनि अंकित गर्न सकिन्छ । गरिब जनताको पक्षमा पत्रकारिताको कलम चलाइरहेका बेला आजभन्दा ११ बर्षअघि तत्कालीन फासिष्ट सरकारले सेनलाई पक्रेर हिरासतमा राखी निर्मम यातना दिएर कुटी–कुटी हत्या गरेको जेठ १३ गतेको दिनलाई हामी दुःखद र एउटा असल मान्छे गुमाएको दिनको रुपमा सम्झन्छौं । भौतिकरुपमा हाम्रा माझ नरहेका ती महान व्यक्तित्वलाई यसबखत हामी सम्झने गर्छौं र उनको गौरवपूर्ण जीवनको अनुशरण गर्ने प्रण गर्छौं ।

नेपाली जनताको अगाडि एउटा शहीद बनेर चिनिएका ती असल मान्छेको जन्म २०१३ कार्तिक १३ गते भारतको देहरादुनमा भएको थियो । बुवा यमबहादुर सेन र आमा भीमकुमारी सेन गरिबीका कारण काम गर्ने सिलसिलामा भारतमा रहेका बेला कृष्ण सेनको जन्म भएको हो । दाङ र अर्घाखाँचीको सीमामा पर्ने जलुके भन्ने ठाउँमा घर भएका सेनको पढाइ, राजनीति र साहित्य क्षेत्रको यात्रा भने दाङबाटै शुरु भएको थियो । सेन लगनशील, परिश्रमी, सरल र मृदुभाषी भएको व्यक्ति हुनुहुन्थ्यो । त्यति हुँदाहुँदै पनि उहाँ राजनीतिक आस्थामा दृढ र निस्वार्थी भावना भएका कञ्चन पानीजस्तै सफा हृदयका मान्छे सेन हुनुहुन्थ्यो । अन्याय, अत्याचार, थिचोमिचो र वर्गविभेदका विरुद्ध सानैदेखि उभिदै आउनुभएका सेन जुझारु क्रान्तिकारी, व्यवहारमा लचकता र सिद्धान्तमा ढृढता उहाँमा निहित मूलभुत विशेषता हो ।

कवि तथा साहित्यिक योद्धा कृष्ण सेनको राजनीतिक जीवन २०३६/०३७ सालदेखि शुरु भएको पाइन्छ । उहाँ विद्यार्थी राजनीतिमा लाग्दा होस् वा पार्टीको राजनीतिमा जहाँ पनि वर्गीय पक्षधरताको आधारमा सक्रिय जीवन बिताउनुभयो । युवादेखि प्रौढ अवस्थासम्म कवि सेन एक शान्त, जिज्ञासु र ऊर्जाशील मान्छेको रुपमा आफ्ना सहकर्मी र सहपाठीहरुका सामू परिचित भइराख्नुभयो । सेनको वर्गप्रतिको निष्ठापूर्ण प्रेम र समर्पण भावलाई कुनै पनि आर्थिक कठिनाइले रोक्न र छेक्न सकेन । सेनको जीवनकथा संघर्षै संघर्षले भरिएको छ । त्यो संघर्ष उहाँले आफ्नो व्यक्तिगत जीवन बनाउनेमा भन्दा जनताको आन्दोलन र मुक्तिका लागि गर्नुभएको थियो । सेन बहुआयामिक व्यक्तित्वका धनी मान्छे हुनुहुन्थ्यो । उहाँ राजनीतिक, सांगठनिक, साहित्यिक र पत्रकारिताका क्षेत्रमा उत्तिकै सफल व्यक्ति मानिनुहुन्छ । उहाँको निष्ठापूर्ण जीवन र कलमबाट अभिव्यक्त विचारदेखि डराएका प्रतिकृयावादी सत्ताका मतियारहरुले उहाँलाई हत्या नगरी आफ्नो राज कायम नहुने देखेपछि सेनलाई कोठाबाटै पक्रेर महेन्द्र पुलिस क्लवमा यातना दिई आत्मसमर्पण गर्न लगाएको र त्यो कुरा उहाँले नमानेपछि कुटी–कुटी हत्या गरिएको थियो । शासकहरुले उहाँलाई हत्या गरेर भौतिक रुपमा सिध्याए पनि उहाँको योगदान गरिब जनता र सर्वहारा वर्गका लागि अमर छ र त कृष्ण सेन सबैले सम्झिराख्ने मान्छे हाम्रामाझ बाँचिरहनुभएको छ ।

सेन आफ्नो जीवनकालमा चार पटकसम्म गरी करिब १० वर्ष जेल र हिरासतमा बस्नुभयो र अन्तिमपल्ट उहाँ हिरासतमै मारिनुभयोे । सेन कुनै पद र हैसियतभन्दा कर्ममा आफूलाई क्रियाशील बनाउने मान्छे हुनुहुन्थ्यो । पत्रकारिता र साहित्यको क्षेत्रमा बढी रुचि राख्ने सेनले नेपाली प्रगतिवादी साहित्यको फाँटमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँका प्रकाशित शोकाञ्जली, इतिहासको यस घडीमा र बन्दी र चन्द्रागिरिजस्ता कृतिहरु कालजयी बनेर गरिब जनताका पक्षमा अमूल्य पूँजी बनेर बाँचिरहेका छन् । यसबाहेक उहाँका फूटकरमा अनेक कविता, निबन्ध, लेख र साहित्यिक समालोचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।

बी.एड., एम.ए.सम्मको अध्ययन गर्नुभएका सेन जनादेश साप्ताहिक, जनदिशा दैनिक र कलम साहित्यिक त्रैमासिक पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । पत्रकार महासंघ, प्रलेस, जनसाँस्कृतिक महासंघसँग आबद्ध सेन विभिन्न समयमा विभिन्न पुरस्कारहरुबाट समेत पुरस्कृत भइसक्नुभएको थियो । बन्दी र चन्द्रागिरि उहाँको जेलभित्र लेखिएको कविता संग्रह हो, जुन कृतिले अन्तर्राष्ट्रियस्तरको ख्याती र चर्चा कमाइसकेको छ । सेनका एक छोरी र श्रीमती हुनुहुन्छ ।

कृष्ण सेनको जीवनगाथाका बारेमा जति चर्चा गरे पनि कमै हुन्छ । कृष्ण सेन हामीबाट गुमेको समय धेरै बित्दै गइरहेको छ । तर, समयको प्रवाहसँगै प्राप्त उपलब्धिहरुको रक्षासँगै राजनीतिक, पत्रकारिता र साँस्कृतिक क्षेत्रमा देखापर्ने समस्या र संकटको अवस्थामा हामी सेनको चुनौतीसँग खेल्न सक्ने कार्यकुशलतालाई सम्झन्छौं र अनुशरण गर्ने प्रयास गर्छौं । सेन शहीद भएर इतिहासका पाना–पानाहरुमा बाँचिरहनुभएको छ । उहाँको बारेमा धेरै राष्ट्रिय व्यक्तित्वहरुले धेरै शब्दको उपमा दिएर उहाँको प्रशंसा र सम्मान गरेका लेखरचनाहरु प्रकाशित गरेका छन् । तर, उहाँका धेरै गुणहरुमध्ये एउटा मात्र गुणलाई हामी बाँचेकाहरुले अनुशरण गर्न सक्यौं भने सेनलाई सम्झेको र उहाँप्रति सच्चा श्रद्धाञ्जली गरेको ठहर्नेछ । अन्यथा सेनको नाम जपेर गलत राजनीति गर्ने प्रवृत्ति हावी हुँदै गयो भने हामीले सेनलाई शहीदको श्रद्धाञ्जली गर्ने अवसरबाट पनि गुमाउँदै जानेछौं ।

सेन परिवर्तनका पर्यायवाची हुन् । सेन मान्छेहरुका पनि राम्रा र असल मान्छे हुन् । सेन आफू गुमेर आफ्नो आस्थालाई सधैं बचाइराख्ने अमर व्यक्तित्व हुन् । उँच–नीच, गरिब, धनी, तल्लो, माथिल्लो, शोषक, शोषितसहितको वर्गविभेद रहँदासम्म एउटा कर्मठ क्रान्तिकारी मान्छे हुन् भनेर चिनिराख्ने यो राष्ट्रका एउटा असल पात्र हुन् कृष्ण सेन इच्छुक ।

इच्छुकको संक्षिप्त परिचय

नाम : कृष्ण सेन ‘इच्छुक’
जन्म: वि.सं. २०१३ कार्तिक ३
जन्मस्थान: भारतको देहरादुन
आमा: भीमकुमारी सेन बुवा ः यमबहादुर सेन
पत्नी: तक्मा केसी छोरी ः समीक्षा केसी
शिक्षा: बीएड, एमए

आबद्धता
अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक संघ
संयोजक, अ.ने.रा.स्व.वि.यु. केन्द्रीय समिति
क्षेत्रीय व्यूरो सदस्य, नेकपा (माओवादी)
केन्द्रीय पार्षद्, प्रगतिशील लेखक संघ, नेपाल
केन्द्रीय पार्षद्, नेपाल पत्रकार महासंघ
सदस्य, दक्षिण एसियाली क्षेत्रीय पत्रकार संघ

प्रकाशित कृतिहरु
शोकाञ्जली (२०४८)
इतिहासको यस घडिमा (२०५५)
बन्दी र चन्द्रागिरि (२०५७)

सम्पादन
कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक,
जनदिशा दैनिक, योजनालगायत

पुरस्कार
साहित्य सन्ध्या (२०५७)
पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९)
कृष्णमणि साहित्य पुरस्कार (२०५९)
प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त
प्रेस सेनानी पुरस्कार (२०६५)
जेलजीवन
दाङ कारागार (६ वर्ष)
भद्र बन्दीगृह (१ वर्ष)
सिराहा र राजविराज (२ वर्ष)
शहादत : वि.सं. २०५९ जेठ १३ (महेन्द्र पुलिस क्लबको हिरासतमा)

प्रस्तुति: अजयदीप शर्मा