जीवनमा सिक्न चाहाने मान्छेले आफू चिप्लिएर लड्यो भने पनि कम्तिमा पनि होस पु¥याएर नहिड्दा चिप्लिएर लडिने रहेछ त्यसैले होस पु¥याएर हिँड्नुपर्छ भन्ने कुरा भए पनि सिक्छ । नसिक्ने मान्छेलाई विश्वविद्यालयका विशाल कक्षाहरुमा राखेर दिनको ७ घण्टाका दरले ७ जना प्रोफेसरले ठूला ठूला दर्शनका ठेली अगाडि राखेर वर्षौँ लेक्चर दिए पनि केहि सिक्दैन । सिक्नका लागि सिक्ने इच्छा हुनुपर्छ । मैले सबै कुरा जानेको छु भन्ने भ्रमबाट मुक्त हुनुपर्छ, तब हरेक घटनाबाट केही न केही सिकिन्छ । चाहे त्यो राम्रो घटना होस् वा नराम्रो नै किन नहोस् । भूकम्पबाट हामीले पनि केही गुमायौँ, त्यसको सट्टा केही सिक्यौँ पनि ।
भूकम्पको धक्कासँगै समाजिक सञ्जाल फेसबुकमा धेरैले त्रासपूर्ण र उडन्ते ‘स्टाटस’ हाले पनि एकजनाले भने अलिकति व्यङ्ग्य र अलिकति यथार्थमिश्रित यस्तो ‘स्टाटस’ लेखे– “भूकम्पले धेरै नराम्रो काम गरे पनि एक काम भने राम्रो ग¥यो, मान्छेलाई मान्छेको हैसियत सिकायो । अर्बपति पनि पाँच मिटर पालमुनि, सडक छाप पनि त्यही पाँच मिटर पालमुनि ।” भूकम्पपछि साम्यवादी समाजको वास्तविक स्वरुप नेपालको पालसंसारमा देखियो । एकजना मान्छेलाई कति जमिन चाहिन्छ भनेर कथा लेख्ने महान कथाकार टल्सटोयलाई पालजिन्दगीमा धेरैले सम्झिए ।
गीता दर्शनले भन्छ– ‘तिमीले हिजो यस धर्तीमा के लिएर आएका थियौ र जुन वस्तुलाई गुमाउदा आज तिमी चिन्तित देखिन्छौ ? जे पायौँ यहीँ पायौ, जे छोडेर जानेछौ त्यो पनि यसै धर्तीमा छोडेर जानेछौ ।’ तर गीताको यो महान् दर्शनलाई मान्छेले लत्त्यायो र धन जम्मा गर्ने होडवाजीमा लाग्यो । हुँदा हुँदा आवास जस्तो आवश्यकताको वस्तुलाई सम्पत्ति मान्न थाल्यो । ठूलो घर सम्पन्नताको प्रतिक ठान्न थालियो । आखिर भूकम्प जाँदा त्यही सम्पन्नताको प्रतीक मृत्युको प्रमुख कारण बनेको देखियो । भूकम्प अगाडि जसले अग्ला घर बनाउन सकेका थिएनन् तिनिहरु आफूले अग्लो घर बनाउन नसकेकोले तनावमा थिए । भूकम्पमा ठूला घरहरु मृत्युको प्रतिक बनेपछि ठूलाघरधनीहरु ठूलो घर बनाएकोमा आफूलाई धिक्कारी रहेका छन् । हिजो अग्लो हुन नपाएको तनाव आज धेरै अग्लो भएकोमा तनाव । मान्छे हिजोे घरको उचाईलाई आफ्नो उचाई ठान्थ्यो तर आज घर बनाउँदा आपूmले सानो घर नबनाएकोमा पछुताइरहेको छ । आफूले ठड्याएको कंक्रिटको महललाई यमराज देखिरह्को छ । मान्छेको उचाई अग्लो महल होइन, बरु धरातलीय यथार्थपरक जीवनबोध हो भन्ने कुरा यो भूकम्पले हामीलाई शिक्षा दिएर गएको छ ।
भूकम्पअगाडि नेपालका राजनीतिक दलहरु एक अर्काको उछितो काढ्न लागिपरेका थिए । एक दलको नेता र अर्को दलको नेताबीच पनी बाराबारको स्थिति थियो । आवेग र उत्तेजनामा एक अर्काको मानमर्दनमा यतिसम्म उत्रिँदै थिए कि कहिलेकाहिँ ठण्डा दिमाख हुँदा त्यो आफूले बोलको भाषा आफैँलाई शर्मनाक हुन्थ्यो । तर आज ती नेता अरुलाई गाली गलौज गर्ने मुडमा छैनन् । सायद भूकम्पको त्रासदीले होला । मान्छेले अति गरेपछि एकदिन उसको हैसियत निर्धारण हुने दिन आउँछ । नियतिले जब उसको वास्तविक हैसियत निर्धारण गर्छ तब उसले रिसराग सब बिर्सिन्छ । झगडा र गाली गलौज भनेको उन्मादको अभिव्यक्ति बाहेक केही होइन । यो कुरा भूकम्पपछि नेताहरुमा देखिएको मौनताले सिकाइरहेको छ ।
पछिल्लो समय नेपालीहरु बीच अस्वस्थ्य प्रतिसप्रर्धाको भावना अत्यन्तै प्रवल हँदै गैरहेको थियो । हामी सबै नेपाली हाम्रा आफ्नै दाजुभाई हाँै भन्ने कुरा स्वयम् हामी नेपालीले बुझेका थिएनौ । संकटमा हामीलाई हाम्रै दाजुभाइ चहिन्छ भन्ने कुरा जानेका थिएनौँ । विश्वका धनी मुलुकको प्रसंसा गर्ने तर आफ्नो देशमा बसेर आफ्नै देशलाई गाली गर्ने, हाम्रै नेपाली दाजुभाइको खिल्ली उडाउने काम हामीले ग¥यौँ । तर आज आपत विपत पर्दा आखिर विदेशी होइन स्वदेशी नै काम लागे । परका छोराछोरी पनि काम लागेनन् बरु नजिकका छिमेकी जो हिजोका दिनमा पानी बाराबार थियो तिनिहरु नै काम लागे । टाढाको देवताभन्दा नजिकको ढुङ्गा नै जीवनको आधार बन्यो । उद्धार कार्यमा पनि परकाले पनि प्रयास त गरे तर नजिककैले निश्वार्थ भएर धेरै काम गरे ।
हामीले लामो समयदेखि देश बनाएनौँ । पछिल्लो समय नेपाल किन बनेन ? कसले बनाएन ? र कसरी बनाउन सकिन्छ ? भन्ने बहस चलेको छ । नेपाल बनाउने नयाँ सूत्रको खोजी गर्दै गर्दा उल्टो नेपाल ध्वस्त भयो । अब १०÷१५ वर्षमा नेपाल बन्ला भनेको त भूकम्पले नेपाललाई उल्टो १०÷१५ वर्ष पछाडि पो धकेलियो । तर अगाडि बढ्न अलिकति पछाडि नधेकिलिइ हुँदैन । अब नेपाललाई बनाउने गेयर थिच्ने बेला भयो । विकासको गति बढाउने बेला भयो । त्यस्तो गति दिने चालकको मात्र खाँचो छ ।
संसारमा विकाशित मुलुक त्यसै बनेका हैनन् । विनासपछि विकाश भएका हुन् । धेरै उतारचढाव पछि शिखर चढेका हुन् । हिरोसिमा नागासाकीमा बम नझरेको भए संभवत जापान आजको ‘रोलमोडेल’ जापान हुने थिएन । मध्ययुगमा नसुतेको भए युरोप यति माथि उठेर सबैलाई सभ्यताको पाठ सिकाउने थिएन । बेलायती दासत्व नव्यहोरेको भए भारत यति छिटो महाभक्ति राष्ट्र हुने लाइनमा लाग्न सक्ने थिएन । आजका शक्तिशाली राष्ट्रहरु अमेरिका, चिन, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जर्मन कुन चाहि मुलुकमा संकट र बिपत्ति आएन ? कुन चाहिँ मुलुकले दुरावस्था भोग्नु परेन ? त्यसैले राम्रोसँग बन्नलाई एकपटक राम्रोसँग बिग्रनु पर्छ । अब साच्चै नेपालले फड्को मार्ने बेला भएको छ । भूकम्पले हामीलाई यो पाठ सिकाएको छ ।
बिग्रेपछि बनाउनु पर्छ । तर बनाउने कसले ? हामी नेपालीको अरुको मुख ताक्ने बानी छ । बिगार्न आफैँ बिगार्ने र बनाउन चाहिँ अरुले बनाइदिनुपर्ने । यो परजीवी मानसिकता नै हाम्रो गरिबीको मूल कारण हो । परजीवी मानसिकताले देश बन्दैन । संसारको इतिहास हे¥यो भने काहिँ कतै पनि कुनै देशलाई अरु देशले बनाइदिएको इतिहास छैन । त्यसैले गएको भूकम्पबाट हामीले यो पाठा सिकौँ– बिगार्ने हामी हौँ, हामीद्वारा निर्मित संरचनाहरुले ८ हजारभन्दा बढी हाम्रै आफ्नाहरुलाई गुमायौँ, हजारौँहजारलाई घाइते बनायौँ । बितेकाहरु काही आफँैले बनाएको चिहानरुपी महलमा थिचिएर मरे कोही अरुले बनाएको चिहानमा पुरिए । जे भए पनि हामीले र हाम्रा आफ्नैले बनाएका संरचना ध्वस्त भएर मरे । त्यसैले अब बनाउने काम पनि हामीले नै गर्नुपर्छ । हाम्रो समस्या हामी आफैँ समाधान गरौँ । हो बनाउन साथ र सहयोग सबैको चाहिन्छ तर हात आफ्नै अगाडी बढ्नुपर्दछ । भूकम्पको विनासले विकास पक्कै ल्याउँछ । किनकी विनास विना विकास संभव छैन । बिनास विकासको ढोका हो । द्वार खुलिसकेको छ । अब नवनिर्माणको बिहानीमा प्रवेश गरौँ ।
लेखकः डा. टीकाराम पोखरेल मोबाइल-९८५१०५३१२७