कुल क्षेत्रफल र उत्पादनको आँकडाहरूको आधारबाट नेपालमा धान पछिको दोस्रो मुख्य बाली मकै हो । मध्य पहाडमा मकैलाई एक प्रमुख खाद्यान्न बालीको रूपमा लिईन्छ । मकैको करिब ८० प्रतिशत क्षेत्रफल पहाडी भागमा पर्दछ । पहाडमा मकैबालीलाई भटमास, कादो, बोडी, सिमी आदि बालीहरूसँग मिश्रित गरी खेती गर्ने प्रचलन छ । कोसेबालीहरूलाई मिश्रित गर्दा वायुमण्डलीय नाईट्रोजन स्थिरीकरण भई माटोको उर्वराशक्ति बढ्ने भएकोले यस विधिलाई जारी राख्नु जरुरी छ । साथै उत्पादन र उत्पादकत्वमा रोग तथा कीराको प्रकोपले पनि निकै नै ह्रास ल्याउँछ । मकै बालीमा लाग्ने मुख्य मुख्य कीरा र तिनको व्यवस्थापन निम्न छन्
१) गबारोः
मकैमा लाग्ने गबारो दुई किसिमका छन् एक धर्के गबारो र अर्को गुलाबी गबारो, यो कीरा नेपालको सबै मकै हुने क्षेत्रफलहरूमा लाग्ने गर्दछ । यो गबारो पराल रंगको पुतलीको लार्भा अवस्था मात्र बालीको लागि हानिकारक छ । क्षतीको किसिम यो कीराको माउले पातमा फुल पारेपछि बच्चा निस्किन्छ र कलिलो भाग खोज्दै भित्रतिर जान्छ । लार्भाले गुवो वा कलिलो भागमा पुगेपछि खान शुरु गर्दछन् । यो कीराले आक्रमण गरेको गुवोको पातहरूमा प्वाल देखिन्छ । प्वाल भएको ठाउँ वरिपरि कीराहरूको बिष्टा पनि भेटिन्छन् । लार्भा कलिलो भाग खादैं तलतिर जाँदा आख्लाहरूमा पनि प्वाल पार्न सक्दछ । आक्रमण भएको बिरुवामा घोगा लाग्दैन । व्यवस्थापन लाइट ट्रयापको प्रयोग गर्ने । गबारो आक्रमण भएको गुवोमा हातले अठ्याई दिए पनि गबारो मर्न सक्छ । सेभिन वा कार्वोफियुरान २–३ दाना प्रति बोट प्रयोग गर्ने ।
२) फौजी कीराः
यो पनि एक किसिमको राती उड्ने पुतली हो । यसको पनि लार्भा अवस्था हानिकारक छ । पुतलीको पखेंटामा मसिना झिल्ली हुन्छ । जसले गर्दा अरु पुतलीबाट सजिलैसँग छुट्याउन सकिन्छ । क्षतीको किसिम लार्भाले पात र बढी भएमा डाठ पनि खान्छन् । लार्भाहरू रातीमात्र खान्छन् र दिनमा लुकेर बस्दछन् । धेरै आक्रमण भएमा पूरा काली नै नष्ट हुन्छ ।
व्यवस्थापन
खेतबारीको सरसफाइ गर्ने । बालीलाई नियमित निरीक्षण गरी शुरुदेखि नै देखिएका फुलहरू र लार्भाहरू नष्ट गर्ने । सेभिन, फोलिथाईन, साईपरमेथ्रिन जस्ता विषादी १÷२ मि.लि. प्रति लिटर पानीमा राखी छर्ने ।
३) खुम्रे कीराः
यो कीरा माटोमा बस्ने अत्यन्त हानिकारक कीरा हो । यो एक किसिमको खपटे कीरा हो । खपटेहरू खैरो रंगका हुन्छन् । क्षतीको किसिम वयस्क र लार्भा दुवै माटोमा बसी जरा खाईदिन्छन् । जरा खाएपछि विरुवा मर्दछ । यिनीहरूले रातमा आक्रमण गर्दछन् र दिनमामाटोमुनि लुकेर वस्दछन् । यसको सम्पूर्ण जिबनचक्र माटोमा पुरा हुन्छ र जिवन चक्र पुरा हुन करिब ३ वर्ष लाग्दछ ।
व्यवस्थापन
बालीकाटेपछि गहिरो जोताई गर्ने । खेतबारी सफा राख्ने । जोताई गर्दा निस्कने खुम्रेलाई तुरुन्त मार्ने । काँचो गोबरमल प्रयोग नगर्ने । तितेपाती, असुरो, पिना जस्ता बस्तुले माटो उपचार गर्ने ।
४) फेद काट्ने कीराः
वयस्क पुतली ध्वाँसे रङ्गको र मध्यम आकारको हुन्छ । लाभ्रे खरानी रङ्गको हुन्छ र छोइ दियो भने बटारिएर बस्छ । क्षतीको किसिम दिउँसो लाभ्र्हरू लुकेर बस्छ र राती बाहिर आई बोटलाई जमिनको सतह मुनिबाट वा माथिबाट काट्दछन ।
व्यवस्थापन
बाली काटेपछि गहिरो जोताई गर्ने । काटेको बिरुवाको जरा नजिक माटोमा कोट्याएर लाभ्रेहरू खोजी नष्ट गर्ने । क्यारपाइरीफस (डर्सवान १० प्रतिशत जि.) वा मालाथियन (मालाथियन ५ प्रतिशत धुलो १ के.जी. प्रति रोपनीका दरले माटोको उपचार गर्ने ।