विश्व मिर्गौला दिवस, ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाइयो, यसवर्ष पानी पिउन जोड

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २८, २०७१

फागुन २८ – आज विश्व मिर्गौला दिवस, ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाइयो । विश्व मिर्गौला दिवसमा यसवर्ष पानी पिउन जोड दिईएको छ ।
kkkkedny
विश्व मिर्गौला दिवसको अवसर पारेर राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि अस्पताल परिसर भित्रै दुइदिने निशुल्क मृगौला स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको छ ।
बिहान नौ बजेदेखी तीन बजेसम्म संचालित शिविरमा आज दुईसय पचास जनाभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् ।
यस बर्षको दिबसमा आफु पनि विहान एक गिलास पानी पिउन र अरुलाई पनि पिलाउन जोड दिईएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका नेफ्रोलोजि तथा प्रत्यारोपण विभागकी अध्यक्ष डाक्टर दिब्या सिंह शाहले बताउनुभएको छ ।
डाक्टर शाहका अनुसार मिर्गौला स्वस्थ राख्न पानीको निकै महत्वपूर्ण भूमिका हुन्छ । हरेक विहान कम्तिमा एक गिलास पानी खाएमा पनि मिर्गौला स्वस्थ राख्न सकिन्छ । पानीले शरीर भित्रका विषाक्त पदार्थलाई पिसाबका माध्यमबाट बाहिर फाल्न र रक्तचापलाई सन्तलुनमा राख्न मिर्गौलालाई मद्दत गर्दछ ।
मानव शरीरमा ६० प्रतिशत पानी हुन्छ । पानीको यो मात्रा घट्दा फोक्सो, मुटुमा समस्या हुने, असामान्य रुपमा थकाई लाग्ने, टाउको दुख्ने जस्ता तत्कालिन र धेरै दीर्घकालिन समस्या देखिन्छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेष डाक्टर बिष्णु पहाडीले मिर्गौला रोगको शीघ्र पहिचान तथा समयमै त्यसको निदान नै मिर्गौला स्वस्थ्य राख्ने मूल मन्त्र भएको बताउनुभयो ।
मिर्गौला स्वस्थ्य राख्नका लागि सबैले एक दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्ने, मधुमेह तथा उच्च रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा जोड दिंदै डाक्टर पहाडीले धुमपानको लत भएका, ५० वर्ष भन्दा बढी उमेर नाघिसकेका र मिर्गौलामा अन्य कुनै समस्या भएकालाई मिर्गौला रोगको खतरा बढी हुने भएकाले उनीहरुले हरेक वर्ष मिर्गौला परीक्षण गर्नु जरुरी रहेको बताउनुभएको छ ।
नेपालमा सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला दिवस मनाउन थालिएको हो ।