एसएलसी परीक्षा नजिकँदै छ, धादिङ जिल्लाको तयारी कस्तो छ ?
जिल्लाको तयारी भन्दा, सजिलो र सुगम केन्द्रहरु जहाँ हाम्रो गाडी जान सक्ने ठाउँहरु छन् त्यहाँ उत्तर पुस्तिका पुगिसकेको छ । अरु कुरा केन्द्रहरु निर्धारण पनि भैसकेका छन् । केन्द्राध्यक्षको निर्णय पनि भैसकेको छ र फागुन २८ गते केन्द्राध्यक्षहरुको अभिमुखीकरण परीक्षा केन्द्रको कसरी व्यवस्थापन गर्ने भन्ने सम्वन्धमा केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणको काम गरिँदैछ ।
यस वर्ष जिल्लाभरीबाट परीक्षामा कति परीक्षार्थीले परीक्षा दिँदैछन् ?
यस वर्ष जिल्ला भरीको परीक्षार्थी संख्या नियमित तर्फ ५ हजार ८ सय ६२ जनाले फारम भरेका थिए । त्यसमध्येमा६८ जना विद्यार्थी अयोग्य भनेर घोषित भएका छन् । ५ हजार ८ सय ६२ मा६८ घटाउँदा आउने संख्या ५ हजार ७ सय ९४ जना भए । ती विद्यार्थीहरुको संख्यामा खुल्ला तर्फको विद्यार्थीको संख्या पनि जोडिएको छ ।
यस वर्षको परीक्षा पहिलेको भन्दा थपिएको हो र ?
परीक्षा केन्द्र पहिलेकोभन्दा बढी एउटा थपिएको छ । बच्छलादेववी उमाविमा सत्यदेवीमा १ वटा केन्द्र थपिएको छ । अघिल्लो– अघिल्लो वर्षमा २० वटा परीक्षा केन्द्र भएकोमा यस वर्ष १ वटा थपिएको छ । किनभने माथिल्लो भेगका १ वटा परीक्षा केन्द्रमा झण्डै पाँच सय जनाभन्दा बढी परीक्षार्थी भएपछि विद्यालयले धान्न नसक्ने र विद्यर्थीहरुलाई पनिअलि टाढा भएको र डेरा गरेर बस्न समेत निकै समस्या परेको भन्ने गुनासाहरु आएको कारण हामीले बच्छलादेवी उमावि सत्यदेवीमा नयाँ परीक्षाकेन्द्र थप्न परीक्षा नियन्त्रण कार्यालयलाई अनुरोध गरेका थियौं, त्यसलाई परीक्षा नियन्त्रण कार्यालयले थपेर केन्द्रहरुको निर्धारण गरी पठाईसकेको छ ।
अझैपनि परीक्षार्थीहरुलाई पाएक पर्ने ठाउ“हरुमा परीक्षा केन्द्र भएनन् भन्ने गुनासाहरु उत्तिकै छन् नि ?
हुँदा त सबैभन्दा नजिक, सजिलो भैदिए हुन्थ्यो भन्ने सबैको अपेक्षा हुन्छ । राज्यबाट आशा गर्नेठाउँ पनि हुन्छ । त्यसलाई बेठीकै भन्न त मिल्दैन तर, राज्यले सक्ने र सम्भावना भएको ठाउँ हुनुपर्छ । किनभने एसएलसी जस्तो परीक्षालाई मर्यादित ढंगबाट संचालन गर्न सकिएन भने त्यसको म्यासेज के जाला ? त्यो सर्टिफिकेटको भ्यालु पनि के होला ? त्यो कुरालाई र परीक्षालाई मर्यादित ढंगबाट चलाउँदाखेरी थोरै थोरै संख्याका केन्द्रहरु रहँदा राज्यले धान्न नै गाह्रो पर्ने भएको हुँदा परीक्षा नियन्त्रण कार्यालय सानोठीमिले गत वर्षमा भन्दा विशेष परिस्थितिमा बाहेक हाम्रो अनुमतिमा बाहेक केन्द्र नथप भनेर भनेको छ । हाम्रो निर्देशिकामा पनि त्यहि नै छ । त्यहाँ पनि हामीले एउटा केन्द्रलाई विशेष अनुरोध गरेर थप्न सकेका छौं यहाँले भनेको जस्तो धेरै नजिक हुँदा विद्यार्थीलाई सजिलो त हुन्थ्यो, तर व्यवस्थापन र राज्यको आर्थिक दायित्वको कारणले धेरै नजिक पार्न सकिएन होला । धेरै पहिलेको अवस्था भन्दा धेरै नजिक, पुगिएको छ, गाउँ गाउँमा परीक्षा केन्द्रहरु गएको छ, सकिन्जेलसम्म सजिलो पार्ने प्रयास भएको छ ।
परीक्षा केन्द्राध्यक्षको नियुक्ति प्रक्रियाबारे बताइदिनुस् न ?
एसएलसी परीक्षा समन्वय समितिले परीक्षा केन्द्रध्यक्ष छान्ने हो, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला शिक्षा अधिकारी सदस्य सचिव र जिल्ला प्रहरी कार्यालयको प्रमुख, सहित अन्य सुरक्षा निकायका आमन्त्रित सदस्यहरु रहेको ६ सदस्यीय समिति हुन्छ । त्यो समितिले केन्द्राध्यक्ष छान्ने, र केन्द्र निर्धारण गर्ने हो । त्यसमा हामीले के गरेका छौं भने, माध्यमिक स्थायी शिक्षकलाई मात्रै केन्द्राध्यक्ष बनाउने काम गरेका छौं । जुन विद्यालयमा केन्द्र परेको छ तयो विद्यालयको प्रधानाध्यापक मावि स्थायी हुनुहुन्छ भने, उहाँ नै केन्द्राध्यक्ष हुने भनिएको छ । हाम्रो २१ मध्ये ९ वटा केन्द्राध्यक्षहरु त्यहि विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । बाँकी ४ वटा विद्यालयमा केन्द्र परेको विद्यालयका शिक्षकहरु मावि स्थायी हुनुहुन्छ र उहाँहरु नै केन्द्रध्यक्ष हुनुहुन्छ ।
यदि प्रधानाध्यापक र शिक्षक पनि स्थायी हुनुहुन्न भने अन्य विद्यालयबाट मावि स्थायी शिक्षकलाई लैजाने भनेपछि ८ बटा केन्द्रमा अन्य विद्यालयबाट केन्द्राध्यक्षमा नियुक्त हुनुभएको छ । उहाँहरुलाई प्रशिक्षण परीक्षा नियन्त्रण कार्यालय सानोठीमिबाट परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेल आउँदै हुनुहुन्छ । उहाँले समेत केन्द्राध्यक्षलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
विगतको वर्षहरुमा शिक्षकहरु नै चिट चोराउन अग्रसर भएको समाचारहरु पनि आएका थिए, यसपाली चिट चोर्ने र चोराउनेलाई निरुत्साहित गर्न कस्तो योजना छ ?
यदाकदा तपाईहरुले कुरा सुन्नु एउटा पाटो रह्यो होला तर, पहिलेको भन्दा विगत वर्षमा घट्दै गएको अथवा त्यस्तो नभएको भन्ने हाम्रो सार्थीहरुको रिर्पोटमा छ । त्यसलाई अझै मजबुत बनाउनको लागि केन्द्रको बाहिर खानतलासी गर्ने, विद्यार्थीहरुलाई राम्रोसंग सम्झाउने, शिक्षकहरुलाई जो परीक्षामा खटिनुभएको छ, उहाँहरुलाई परीक्षाको वरिपरी जान रोक्ने सुरक्षा संयन्त्रलाई पनि परीक्षा दिएको ठाउँ वरिपरि जान नदिने, परिक्षा केन्द्र बाहिर परीक्षा केन्द्र व्यवस्थापन समिति बनाइएको छ त्यसलाई विद्यालय व्सवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सानो समिति गठन गर्न अुनरोध गरिसकेका छौं । त्यो हाम्रो केन्द्राध्यक्षले गर्नुहुन्छ र अर्को हामी प्रष्ट ऐन नियमले दिएको व्यवस्था र निर्देशिकाले दिएको व्यवस्थामा कम्परमाईज गर्नुहुँदैन । परीक्षा मर्यादित रुपमा चलाउनुपर्छ यदि त्यस्तो भएन भने, कार्वाहिको भागी हुनुपर्छ भनेर हामी भन्छौं । परीक्षा राम्रो र व्यवस्थित बनाउनेछौं ।
परीक्षा केन्द्रमा खटिने शिक्षकलाई सेवा सुविधामा दोब्बर गरिएको छ, अनियमितता कम होला ?
सेवा सुविधा बढाउँदैमा अनियमितता घट्छ भन्न ठोकुवाका साथ भन्न त सकिँदैन । मान्छेमा इमान्दारीता र नैतिकताको कुरा हो, त्यो भएन अफ्ठ्यारो प¥यो भनेको कारणले आफ्नै विद्यार्थीहरुलाई आफ्नै विद्यालमा परीक्षा दिन नपाउने भनेर होम सेन्टर नराखेको हो । होम सेन्टर मात्रै नभई क्रसचेक समेत गरिएको छैन । पैसाले मात्रै परीक्षालाई शिक्षकको नैतिकता आउँछ भन्ने होइन उसको पेशागत नैतिकताको कुरा हो, मलाई लाग्छ शिक्षकहरुको केही गुनासोहरुलाई सम्बोधन गरिसकिएको छ । राजयले सक्दा अझै बढाउन आफ्नो ठाउँमा छ । इमानदारितालाई पैसामा जोडेर नगरौँ जस्तो मलाई लाग्छ । शिक्षक साथीहरुले आफ्नो दक्षता र इमान्दारिता देखाउनुहु्न्छ ।
परीक्षा केन्द्रको बारेमा बताइदिनुस् न ?
परीक्षा केन्द्र जिल्लाको समन्वय समितिले तय गरिसकेको छ । महेशधर्म उमावि जिवनपुर, मच्छिन्द् उमावि खानीखोला, महाकाली उमावि सिम्ले, बागेश्वरी उमावि बैरनी, जनकल्याण मावि वैरेनी, आदर्श उमावि गजुरी बागेश्वरी उमावि रिचोकटार, चन्द्रोदय उमावि विशालटार, मिन्दुका मावि नलाङ, देउराली मावि सशाह, बालमन्दीर मावि धादिङवेसी, नीलकण्ठ उमावि धादिङवेसी, शमीभञ्ज्याङ उमावि मैदी, संस्कृत उमावि मैदी, रानीपौवा उमावि सल्यानटार, अचने उमावि खहरे, बद्रीविशाल उमावि बुढाथुम, मण्डली उमावि फूलखर्क, तामाङखर्क उमावि गुम्दी, महेन्द्रोद्रय उमावि कटुन्जे, बच्छला उमावि सत्यदेवी र उमावि कटुन्जे गरी २१ वटा परीक्षा केद्रहरु निर्धाण गरिएका छन् ।
द्धपरीक्षा केन्द्रमा प्रहरी परिचालन गर्दा विद्यार्थीहरु डराए भन्ने छ नि ?
विशेष परिस्थिति आउँदा पनि हतियार नभएका प्रहरीहरु जाने हो, हतियार सहितको प्रहरी विद्यार्थीले देख्ने गरी झ्याल, ढोका वरिपरी रहँदैनन् ।
चिट चोर्ने र चोराउनेलाई के कारबाहि हुन्छ ?
तिनीहरुलाई के गर्ने भन्ने कानूनमा प्रष्टै व्यवस्था छ । शिक्षा नियमावलीमा पनि प्रष्ट वइवस्था छ, सजाएँ सम्वन्धी प्रष्ट व्यवस्था छ, आचार संहिता पनि भएको हुनाले हामी पछि जानकारी दिन्छौं । चिट फेला प¥यो भने विद्यार्थी रेष्टिगेट भइहाल्छ । विद्यार्थीले कस्तो व्यवहार गरेर रेष्टिगेट भएको छ त्यसको आधारमा कारवाही हुन्छ ।
जिल्लाको शैक्षिक गुणस्तर वृद्धि गर्न तपाईको भावी योजना ?
अहिले धेरै कुरा गर्नु भन्दा पनि पब्लिकले कसरी लिएका छन् त्यो आफ्नो ठाउँमा छ धेरै देखिने काम गर्नु भन्दा पनि यो जिल्लालाई व्यवस्थित तरिकाले अगाडि लैजाने प्रयास मैले गरेको छु । त्यसमा सबै सरोकारवालाहरुसंग समन्वय गर्ने र कानूनमा भएका कुराहरुलाई कार्यान्वयन गराउने कामलाई मैले प्राथमिकतामा राखेर काम गरेको छु । मैले जहाँ जहाँ समन्वय गरेर काम गरेको छु, र जहाँ जहाँ बुझाउन सकेको छु, उहाँहरुले पनि मलाई सहयोग गर्नुभएको छ । हामीले नयाँ नयाँ कुराहरु गरेर हिड्दैमा केही उपलब्धी हुन्छ जस्तो मलाई लाग्दैन । त्यसो हुँदा एक पटक विधि सम्बत तरिकाले चल्नुपर्छ भन्ने हो ।
अन्त्यमा ?
एसएलसी परीक्षा सबैको सरोकार र चासोको विषय हो । विद्यार्थीले निर्भिकतापूर्व आफूले जानेको कुराहरु स्वच्छ वातावरणमा लेख्न पाउनुपर्छ । १० वर्ष गरेको परीश्रम तीन घण्टामा लेख्न पाउनु उसको अधिकार हो, त्यसैले परीक्षा केन्द्रको भित्र र बाहिरको वातावरण भौतिक व्यवस्थापन विद्यार्थीमैत्री हुनुपर्छ । सबैको ध्यान त्यतै छ । धादिङको परीक्षा मर्यादित थियो भनेर केन्द्र तहमा जुन म्यासेज गएको छ, त्यो जोगाउने दायित्व सरोकारवाला सबैमा छ । ‘म ढुक्क छु, परीक्षा अझै मर्यादित हुन्छ ।’