बुढीआमा र घण्टाघर (कथा)

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन २८, २०७१

 राजु सेङ्तान– “मेरो घर पूर्व पाँचथर हो । अहिले कालीमाटी छेउमा बस्छु । मेरो छोरा छोरी श्रीमान् कोही पनि छैनन् । एउटा छोरो थियो तिमी जस्तै लक्का जवान । माओवादीमा गएर लडाईंमा म¥यो रे । किन सोधेको बाबु ? बुढीआमाले अलि झर्को मानी । बेलुकी आएर प्रवेशले आफ्नो डायरीमा यति लेख्यो ।
प्रवेश भोलिपल्ट बेलुकी कमलादी छेउको अफिसबाट फर्केर त्यहीं घण्टाघर मुनि आइपुग्यो । तिनै बुढी आमासँग एक घोगा मकै र अलिकति नुनखुर्सानी माग्यो । “आमा सन्चै हुनुहुन्छ ? सदा झैं प्रवेशले कुरा शुरु ग¥यो । “के सन्चै भन्नु बाबु यी दिनभरि मकै पोल्यो, साँझ बिहान हातमुख जोर्न धौ–धौ हुन्छ” । बुढीआमा फरियाको सप्कोले निधार पुछ्दै तावामा भएको मकै हम्कन थाली । “अनि वाबु सधै आउँछौ के–के सोधी बस्छौ किननी ? जिज्ञासा मिसिएको नजरले प्रवेशतिर हेर्दै सोधिन् । “त्यतिकै हो आमा मेरो पनि घर पाँचथर नै हो, अफिस यही पर हो, आउँदा जाँदा बाटो पर्छ त्यसैले नि आमा” । पाँचथर सुन्ने वित्तिकै बुढीआमाले अरु केही पनि सोध्न चाहिनन् । प्रवेश मकै खाइसकेर हिड्यो । घण्टाघर, बागवजारको आकासेपुल हुँदै पुरानो बसपार्क पुगेर गाडी चढ्यो । बाटाभरि बुढीआमाको तस्विर उसको आँखा वरिपरि आइरह्यो । बेलुकी कोठामा आएर बुढीआमासँगको सम्वाद डायरीमा लेख्यो ।
प्रवेश पढाई सकेर बल्लबल्ल एउटा सानो जागिरमा झुण्डिएको छ । बेलाबेलामा जागिरको अर्थ लगाउँछ प्रवेश जा अनि गिर् । समाजशास्त्रको विद्यार्थी भएपनि उसले जागिर भने एउटा प्रेसमा पाएको छ । अलि भावुक भएको कारण कुनै पनि दृष्यले उसलाई तानी हाल्छ । अफिस शुरु भएकोतीन हप्ता भयो । त्यति नै बेलादेखि उसले घण्टाघरमुनि मकै पोल्ने बुढीआमाको बारेमा जान्न चाहिरहेको छ । ती बुढीआमालाई कहाँ देखे कहाँ भेटेजस्तो झझल्को आउँछ प्रवेशलाई । १२ बर्ष अगाडि पाँचथरबाट पढ्न भनेर काठमाण्डौ आएदेखि मुस्किलले तीन पटक भन्दा बढी गाउँमा पाईला टेकेको छैन । बेलाबेलामा साथीहरुलाई सुनाउछ “के गाउँ जानु खै” । एउटी छोरी र श्रीमतीसँगै बालाजुमा एउटा कोठा लिएर बस्दै आएको छ प्रवेश ।
भोलिपल्ट फेरि त्यसैगरी प्रवेशको दिन सुरु हुन्छ । अफिस सकेर त्यहीं आइपुग्छ । एक घोगा मकैसँगै अलिकति नुनखुर्सानी माग्छ । अनि विस्तारै बुढी आमाको मुड हेरेर कुरा सुरु गर्छ । बुढीआमा टन्टलापुर घाममा असिनपसिन भएर मकै पोलिरहन्छिन् । बाटो हिड्नेले बेलाबेलामा उसको डोको लडाइदिन्छ । बुढीआमा फत्फताउँदै डोकोबाट पोखिएका मकैका घोगाहरु उठाउँछे । नगरको खैरो पुलिससँग बुढीआमा क्रोदित छे । भन्छे “बजियाहरु हामीले गरिखान पर्दैन, कस्ता मनमा हरि नभएकाहरु” । साँझपख चन्द्रागिरी पहाडमा घाम लुकेर घण्टाघरको घण्ट टवा्ङ–टवाङ् बजे पछि बाँकी रहेको मकै, तावा र दाउरा पोको पारेर पुरानो बसपार्क, सहिद गेटछेउ हुँदै कालिमाटी हिँडेरै पुग्छे । बेलाबेलामा सहिद गेट छेउमा उभिएर बुढीआमा आफैसँग गुनगुन गुनगुन कुरा गर्छे “बरा कस्का छोराहरु हुन्, के पाए र यिनिहरुले ? साँझ झमक्क भएपछि विष्णुमती छेउकोे चिसो कटेरोमा खोक्दै ढोका खोल्न पुग्छिन् । पोल्टामा पोको पारेर ल्याएको चामल कालो सिल्वरको तसलामा खोले बसाल्छिन् । जिउ सारै दुख्छ बुढीआमाको । एकदुई गाँस खोले खाएपछि टुकी निभाएर निदाउने अथक प्रयास गर्छिन् । बेलाबेलामा विष्णुमती नाकैमा गन्हाउन आइपुग्छ । बुढीआमा अँध्यारोमै छामछाम छुमछुम गर्दै बोराले हावा आउने प्वाल छोपिदिन्छे । करले आधाराततिर एक निद्रा निदाएपछि बुढीआमाको निद्रा खुल्छ । अनि बिहान तीन बजे नै सुरु हुन्छ उही कर्म । एक दिन बेलुकीसम्म प्रवेश आएन । बुढीआमालाई न्यास्रो लागिरह्यो । बुढीआमालाई खै किन हो त्यो केटो कहाँ देखे जस्तो लाग्छ । कता–कता झझल्को आउँछ । पाँचथरसँगको साईनो बुढीआमाले तोडिसकी । बुढीआमा सम्झन पनि चाहन्नन् पाँचथर । बुढीआमा हिड्ने तरखर गर्दै थिइन् । नभन्दै हस्याङ्फस्याङ गर्दै प्रवेश आइपुग्यो । एक घोगा मकै माग्यो । १५ रुपैयाँ दियो । हिँड्ने बेलामा प्रवेशले सोध्यो “अनि, आमा तपाइँको पाँचथर कुन गाउँ हो नि ? प्रवेशको प्रश्नले बुढीआमा झस्किइन् । चाउरिएको निधार खुम्च्याएर प्रवेशलाई गहिरोगरि हेरि । अनि विस्तारै भनिन् ‘खेवाङ्ग….! प्रवेश झस्क्यो । अनि भन्न थाल्यो “मेरो पनि घर त्यहीं त हो नि आमा, म होमप्रसाद आचार्यको छोरा, तपाइँ चिन्नु हुन्छ ? बुढीआमा नसुनेझैं गरी सामान पोको पारेर छिटोछिटो आफ्नो गन्तव्यतिर लागी । प्रवेशले बुढीआमालाई सैनिकहरु परेड खेल्ने टुँडीखेलको पुछारसम्म पछ्याउँदै गयो । तर प्रयास निरर्थक भएपछि घर फर्कियो । प्रवेश सरासर कोठामा पुगेर टिनको बाकस खोल्यो । पुरानो श्यामस्वेत फोटाहरु एकएक गरी पल्टायो । उसकी आमा, ठुलीआमा, माइजुहरु र हजुरआमाको मुखाकृतिमा अघिकी बुढीआमालाई मिलाउन खोज्यो । तर कतै पनि मिलेन । उसले फेरि फोटो पल्टाउन थाल्यो । ठुलीआमाको फोटोलाई नियालेर हे¥यो । बुलाकी लगाउने नाकको प्वालमा अलिकति काटिएको थियो । चिन्यो प्रवेशले, मकै पोल्ने बुढीआमा उही उसकी ठुलीआमा हुन् । प्रवेश छट्पटायो । भात खाएन । श्रीमतीसँग धेरै बोलेन । छोरीलाई पप्पी पनि गरेन । उसले लेख्दै गरेको डायरी निकालेर एकसुरले लेख्न थाल्यो ।
य मेरा एकजना दाई थिए, गोरे । उनी मभन्दा दुई महिना मात्रै जेठा हुन् भनि भन्नुहुन्थ्यो हजुरआमा । घरमा सधैं झगडा हुन्थ्यो । पछि थाहा पाएँ बुबाले दुईवटी आमा ल्याउनुभएको रहेछ । मेरी आमा कान्छी र गोरे दाईकी आमा जेठी हुनुहुँदोरहेछ । गोरेदाई र ठुलीआमा गोठछेउमा एउटा कटेरो बारेर बस्नुहुन्थ्यो । म, आमाबुबा अनि हजुरआमा ठूलो घरमा बस्थ्यौं । आमा र ठुलीआमा दिनहुँ झगडा गर्नुहुन्थ्यो । मेरी आमा अलि हट्टा–कट्टा हुुुनुहुन्थ्यो, तर ठुलीआमा बिरामी भइरहनु हुन्थ्यो । मलाई मेरी आमा चण्डाल्नी जस्तै लाग्थ्यो । किनकी गोरेदाई र म सँगै देख्यो कि गोेरेदाईलाई पिटी हाल्नुहुन्थ्यो । बुबा जाँडरक्सी खाएर रातदिन हिंड्नु हुन्थ्यो । ठुलीआमा र गोरेदाई सधैं खोले खाएर बस्नुहुन्थ्यो । यता हाम्रो घरमा दूधदही, माछामासु कहिल्यै टुट्दैन थियो । हजुरआमा बिरामीले थला परिरहनु भएको थियो । मेरी आमाले एक दिन पनि हजुरआमालाई हेरेको देखिन । ठुलीआमाले नै खोले लगिदिनुहुन्थ्यो । एक दिन बेलुकी मैले दही लुकाएर ठुलीआमालाई दिएँ । वहाँले अप्ठेरो मान्दै लिनुभयो । त्यस दिन गोरे दाई धेरै खुशी देखें मैले । बिहान आमाले थाहा पाउनुभएछ । ठुलीआमालाई कपालमा समाएर भुत्ल्याउनु भयोे । बुवा चुपचाप बस्नुहुन्थ्यो । मेरो बाल मस्तिष्कमा बसेको आमाको छुद्र वचन अझै पनि गुन्जिन्छ । त्यस दिन आमाले ठुलीआमालाई भन्नु भएको थियो “तँ बाँझी थिइस्, त्यसैले म झ्याइँ–झ्याइँ बिहे गरेर यो घरमा भित्रिएकी हुँ । यो गोरे कुन नाठोको हो भन् ? बोक्सी, तँ यो घरकी बुहारी होइनस् । अहिल्यै निस्केर गइहाल्” ठुलीआमा बुबाको खुट्टा समाएर रुनुहुन्थ्यो । तर बुबा चुपचाप बस्नुुहुन्थ्यो । हजुरआमाको कुरा कसैले पनि सुन्दैनथे ।
म स्कुल जान थालें । तर गोरेदाइ सधैं गाईबाख्रा चराउन वन जानुहुन्थो । दाइको खुट्टामा चप्पल कहिल्यै हुँदैन थियो । वर्षौंवर्ष एउटै मैलो लुगा लगाएर बस्नुहुन्थ्यो । के दशैं, के तिहार दाइ र ठुलीआमाको मुहारमा कहिल्यै खुशी देखिन । एक दिन दशैंभन्दा अलि अगाडि मैले बुबाको खल्तीबाट पाँचसय चोरेर ठुलीआमालाई दिएँ । मैले ढाँटेर स्कूलमा फस्ट भएर सरले पुरस्कार दिएको भने । ठुलीआमाले भोलिपल्ट हाटबजारमा गएर गोेरेदाइलाई नयाँ लुगा र आफूलाई सारी किन्नुभएछ । साथमा मासु पनि लिएर आउनु भएछ । त्यो पल उहाँहरुलाई मैले जिन्दगीमा पहिलो पटक धेरै खुशी देखें । गोरेदाई खुशी हुदै गाउँभरि आफ्नो नयाँ लुगा साथीहरुलाई देखाउन जानुभयो । बेलुकी घरमा ठूलो झगडा भयो । आमाले ठुलीआमालाई जगल्ट्याउँदै आँगनमा ल्याउनु भयो । “तेरीमा डङ्कीनी, अब पैसा पनि चोर्न थालिस होइन, तँ अहिल्यै यस घरबाट निस्किहाल्, तँ यहाँ भइन्जेल मलाई सञ्चो हुँदैन, गइहाल तेरो नाठोकोमा” । आमा चिच्याउँदै कराउँदै । ठुलीआमाको कटेराका भाँडाकुँडा बाहिर फाल्न थाल्नुभयो ।
गोरेदाइको लुगा आमाले च्यातिदिनुभयो । ठुलीआमाको नयाँ सारी आमाले हँसियाले चिराचिरा पारिदिनु भयो । मैले चोरेर ठुलीआमालाई दिएको हो भनेर धेरै भनें, तर मेरो कुरा कसैले सुनेनन् । अन्तमा, ठुलीआमा र गोेरेदाइ सानो लुगाको पोको बोकेर हजुरआमालाई ढोगेर तीनजुरे डाँडातिर जानुभयो । घर शून्य भयो । दाइ र ठुलीआमालाई धेरै सम्झिएँ । आमालाई सोध्थें “उनीहरु मरिसके कुरा नगर” भन्नुहुन्थ्यो । बुबालाई सोध्दा केही पनि बोल्नुहुन्थेन । हजुरआमा “एक दिन आउँछन् बा चिन्ता नगर” भन्नुहुन्थो । मैले दश कक्षा
गाउँमै पास गरें । बाँकी पढाइ पुरा गर्न मामाको पछि लागेर काठमाडांै आएँ । ठुलीआमालाई धेरैखोजें तर भेट्न सकिन । मैले बाह्र पास गरिसक्दा थाहा पाएँ, गोरेदाइ त पूर्वाञ्चलको माओवादी सेनाका कमाण्डर हुनुहुन्छ रे । भेट्ने धेरै कोशिस गरें तर सकिन । आज घर नगएको पनि वर्षांै बितिसक्यो ।
अस्ति गाउँको एकजना लिम्बूकाकाले भन्दै हुनुहुन्थ्यो । आमा सिकिस्त विरामी हुनुहुन्छ रे । एक पटक मेरो मुखमात्रै हेर्न चाहनु भएको छ रे । बुबा त झन् थला परेको वर्षांै भइसक्यो रे । अब डाक्टरले इलाज हुँदैन भन्छन् रे । हजुरआमा त म काठमाडौं आउने साल नै बितिसक्नु भयो । मलाई गाउँ जानै मन लाग्दैन । मेरो कोही पनि छैन जस्तो लाग्छ त्यहाँ । तर, आज म धेरै खुशी छु । मेरी ठुलीआमा, होइन मेरी आमालाई भेटें मैले । अब सँगै राख्छु । आमाको आँखाबाट एक थोपा पनि आँशु बग्न दिन्न । गोरे दाइ कता हुनुहुन्छ कुन्नी, उफ् ! यो रात पनि कति लामो । प्रवेश छटपटाउँदै बिहानपख एकछिन निदायो । बिहान हुने वित्तिकै आफूसँगै श्रीमती र छोरीलाई पनि हिंड्न तयार बनायो । “आज हजुरआमा भेट्न जाने है छोरी” । छोरी फुरुङ्ग भई । श्रीमती सासूआमालाई भेट्ने अभिलाषामा हतारिन्छे । उनीहरु हतारहतार गाडी चढेर पुरानो बसपार्कमा ओर्लिएर सरासर घण्टाघरतिर लम्कियो । यता बुढीआमा रातभरि निदाउन सकिन । बुढीआमाले ठम्याइन्– त्यो केटो पक्कै प्रवेश नै हो । एकमनले सोची अब भोलिबाट त्यहाँ मकै बेच्न जान्न । अर्को मनले सोची “होइन प्रवेश मेरै छोरो हो । जन्म त्यो चण्डाल्नीले दिएपनि दूध त मैले नै खुवाएर हुर्काएकी हुँ । त्यतिबेला त्यो चण्डाल्नीको खै के भएर हो दूध आएन । प्रवेश मेरै दूध खाएर हुर्केको हो । मलाई नै आमा भन्थ्यो । होइन, म उसलाई भेट्छु”। मनमा तर्कना गर्दागर्दै बुढीआमा निदाईन् ।
आधा राततिर बुढीआमालाई ऐंठन प¥यो । गोरे वायुपङ्खी घोडा चढेर जूनको नजिकैपुग्न लागिसकेको थियो । एक्कासी कालो मुख बाउँदै राक्षसनी आएर गोरेको खुट्टा तान्न थाली । बुढीआमा झल्याँस्स ब्यँुझी । त्यसपछि निद्रा परेन ।भोलीपल्ट बिहान मकै पौल्ने सरजाम बोकेर टेकु हुँदै बुढीआमा बाटो लागिन् घण्टाघरतिर । आज बुढीआमालाई मौसम सदाकोभन्दा फरक लागिरहेको छ । सडकमा मोटरगाडीहरु आज धेरै गुडे जस्तो लागिरहको छ । घरिघरि मोटरसाइकलमा हिंड्ने मान्छे गोरे जस्तै लाग्छ । अलि पर गएर आमा ! आमा ! भन्दै बोलाए झैं लाग्छ । कता कता पाँचथरका डाँडापाखा सम्झिन पुग्छिन् बुढीआमा । स्वर्गे भइसकेका आमाबुबाको झझल्को घरि–घरि आँखामा आउँछ । बुढीआमाले त्रिपुरेश्वर हुँदै सहिद गेट छेउमा आइपुगेर भारी बिसाइन् । तल्लो पट्टी घोडामाथी खुँडा बोकेर जङ्गे सवार भएको देखि । माथ्लोपट्टी सहिदका काला मूर्ति मान्छेहरुको भिडमा चुपचाप बसेको हेरी । जङ्गेको मूर्तिपट्टी फर्केर पिच्च थुकी । आफ्नो घिनलाग्दो कप्टी लोग्ने र जङ्गे उस्तै–उस्तै लाग्छ बुढीआमालाई । अनि सहिद गेटतिर फर्केर हेर्छे । सहिद भन्ने शब्द आमालाई आफ्नो आफ्नोझैं लाग्छ । एकाएक आफ्नो गोरेलाई सम्झिँदैगहभरि आँशु बनाउँछे बुढीआमा । “खै कता लडाइँमा सहिद भयो रे भन्छन् मान्छेहरू ।” आमा आफैसँग बोल्दै लामो सुस्केरा हाल्छिन् । हिजोराति गोरेलाई वायुपङ्खी घोडामा आएको सम्झिन्छिन् । अनि, दुष्ट राक्षसहरुले खुट्टामा समाएर जूनसम्म पुग्न नदिएको सम्झिन्छिन् । सबै जना,“म¥यो तेरो गोरे” भन्छन् तर आमालाई विश्वास नै लाग्दैन । साँझपख एक मुठ्ठी भुटेको मकै झोलामा हालेर, टाउकामा रातो रुमाल बाँधेर “भोलि बिहान आउँछु है आमा” भनेर गएदेखि गोरे कहिल्यै फर्केर आएन । एउटा कार्यक्रममा बुढीआमालाई माओवादी नेताले न्यानो खरानी रङ्गको बर्को दिंदै सहिदकी आमा भनेको सम्झिन्छिन बुढीआमा । त्यतिबेला बुढीआमाले केही पनि मेसो पाइनन् ।
“आमा मकै कति हो” बुढीआमा झस्किइन् । “होइन बा, अलि पर घण्टबज्ने ठाउँमा पुगेर मात्र बेच्छु ।” बुढीआमा फेरि भारी बोकेर हिंडिन् । कहिले आफ्नो छोरो गोरेलाई सम्झिन् । कहिले निन्याउरो गरी सधंै मकै खान आउने प्रवेशलाई सम्झिन् । सानोमा प्रवेशले लुकाइलुकाई दही दिएको सम्झिन् । सैनिकले परेड खेल्ने ठाउँ हुँदै नेताले भाषण गर्ने ठाउँमा आइपुगिन्बुढी आमा । आकाशे पुल चढ्न मन लागेन । बुढीआमालाई कताकता पाँचथरमा लेकबेंसी गर्दाको सम्झना आउँछ । तलबाट नै बाटो काटी । “यो बुढी कुन दिन जान्छे !”ट्राफिकले गालीगर्न थाल्यो । आमा नसुनेझैं गरी बाटो काट्छिन् । अलि पर शान्तिवाटिकामा मान्छेहरु जम्मा भएर परालको मुठो बाल्दै खै कसलाई हो गालिगरिरहेको देखी । “मेरो गोरे भइदिएको भए सबैको चित्त बुझाउँथ्यो ।” बुढीआमा मनमनै भन्छिन् । त्रिचन्द्र क्याम्पसको पेटीहुँदै बाटो काट्ने ठाउँमा पुगिन् बुढीआमा । मनमा कहिले प्रवेशलाई भेट्ने भन्ने हतारो थियो । बुढीआमाले कताकता बुढेसकालको सहारा पाएजस्तो सोचिरहेकी थिइन् । अठ्सठ्ठीवटा जति हिउँद काटेकी, मकै पोल्ने सरजाम बोकेकी बुढीआमाले रोडकाट्न थालिन् । रोडको बिचमा पुग्दानपुग्दै रोडपारी छोरा, बुहारी, नातिनी देखिन् । मनमा मातृस्नेह जागृत भएर आयो । कतिबेला पारी पुगेर आफ्ना सन्तानलाई अङ्कमाल गर्ने भन्दै बुढीआमा हतारिइन् । बुढीआमा दायाँबाँया नहेरी फटाफट रोडकाट्न थालिन् । अचानक ! नारायणहिटीबाट हुइँकिदै आएको एउटा पजेरोले बुढीआमालाई बेस्सरी हिकार्यो । प्रवेशले आ . . . मा . . . भन्दै चिच्याएको बुढीआमाले अलिअलि सुनिन् । बुढीआमाको आधा जिउ पजेरोको चिल्ला पाङ्ग्राहरुमा टाँसियो । प्रवेश आमाको छेउमा पुग्दा आमा धेरै टाढा गइसकेकी थिइन् । बिस्तारै मान्छेहरुको भिड जम्मा भयो । बुढीआमाका एकजोडी निर्दोष आँखाले अगाडिको घण्टाघरलाई हेरिरहेका थिए । घण्ट ट्वाङट्वाङ बज्यो । बुढीआमाका आँखाले भनिरहेकाथिए “यो घण्टाघरमा गरीबको समय जनाउने घण्ट कहिले बज्ला …?