सन्दर्भ : १०५ औँ अन्तर्राष्ट्रिय नारी दिवस

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २३, २०७१

कुनै समय थियो । छात्राहरुलाई मात्र पढाउने विद्यालय र कलेजहरु बग्रेल्ती थिए । अधिकांश त्यस्ता विद्यालयको नाममा ‘कन्या’ शब्द जोडिएको हुन्थ्यो । डिल्लीबजारको कन्या मा.वि., बागबजारको पद्मकन्या कलेज, ज्ञानेश्वरको महेन्द्रभवन कन्या मा.वि., जावलाखेलको सेन्ट मेरिज स्कूल जस्ता शिक्षण tikaram pokharelसंस्थाहरु छात्राहरु मात्र पढाउने कारण चर्चित बने । आजकल महिलालाई मात्र पढाउने भनेर नयाँ विद्यालय र कलेज खुल्ने नगरेका भए तापनि विगतमा खुलेका यस्ता ‘कन्या’ विद्यालय र कलेजहरुको निरन्तरता भने कायमै छ । छात्रा मात्र पढ्ने भएकाले पुरुषबाट छोरी सुरक्षित हुने देखेर संभ्रान्त अभिभावकहरु महिला विद्यालय र कलेजमा आफ्ना छोरीहरु पठाउँथे । संभ्रान्तले छोरी पठाउने भएपछि विद्यालय सञ्चालकहरु पनि दंग थिए । पढ्न पठाउने अभिभावकको सङ्कुचन र पढाउने विद्यालयको स्वार्थको शिकार चाहिँ महिलाहरु हुन्थे । तर बिडम्बना ती छात्राहरु थाहा पाउँदैनथे आफू अन्यायमा परेको । यो निरन्तरता अहिले पनि कायमै छ कतिपय शिक्षण संस्थामा । तर कुनै लिङ्गको मान्छेलाई अर्को लिङ्गसँग टाढै राखेर सुरक्षा खोज्नु वा छोरीलाई राम्रो शिक्षा दिक्षा दिएँ, राम्रो वातावरण दिएँ भनेर बुझ्नु भ्रम मात्र होइन मानव अधिकारको पनि ठाडो उल्लंघन हो । एक किसिमको अघोषित बन्दीगृहमा दिएको शिक्षा दिक्षा पूर्ण होला ? के यस्तो एकलकाँटे कामले महिला पुरुष समानतामा टेवा पु¥याउला ?
तिनै महिला विद्यालय र कलेजमा पढेर आएका धेरै महिलाहरु अहिले मानवअधिकारकर्मीको रुपमा काम गरिरहेका छन् । पुरुषबाट टाढा रहेर महिला विद्यालयमा पढेका तिनीहरुले महिला विद्यालयमा सहशिक्षालयमा भन्दा के छुट्टै शिक्षा पाए त्यो त न छुट्टै शिक्षा लिने महिलाले भनेका छन् न यस्ता एकलिंगी महिला विद्यालयको विपक्षमा नै ती अधिकारकर्मी महिलाले आवाज उठाएका छन् । बरु संभवतः ती अधिकारकर्मी महिला पनि बाहिर बाहिर भने महिला समानताका गुड्डी हाँक्दै भित्रभित्रै आफ्नी छोरीलाई पनि पुरुषबाट टाढै राख्नु नै उत्तम ठान्दै महिला विद्यालय धाउँदै होलान् ।
महिला र पुरुषको समानताको कुरा गर्ने तर महिलाले छुट्टै ठाउँमा बसेर पढ्न पर्छ भन्ने तर्क कुन चाहिँ आधुनिक शिक्षाविद्को हो थाहा पाइएन । बरु मानवअधिकारकर्मीले समेत यस्ता एकलिंगी कन्या विद्यालयको औचित्यमाथि नैतिक समर्थन जनाउँदा भने अचम्मै लाग्छ । यसले महिला पुरुष बीचको असमानताको खाडललाई झनै ठूलो बनाएको छ । छुट्टै राखेर समानता हुँदैन एउटै टोकरीमा राखेपछि मात्र समानताको बहस हुन्छ र समानता गर्न पनि सकिन्छ । समानता र असमानताको प्रश्न जहिले पनि एकै ठाउँमा भएकाहरु बीच मात्र गर्न सकिन्छ भन्ने सर्वमान्य सिद्धान्त विपरीतको काम गरेर पनि कहिल्यै समानताको आन्दोलनलाई टेवा पुग्ला र ?
कहिलेकाहिँ सुन्ने गरिन्छ– ‘महिलाहरुले पनि सगरमाथा टेकिसके, अन्तरिक्षमा पनि पुगिसके, राष्ट्रपति र प्रधानमन्त्री पनि बनिसके, वैज्ञानिक, लेखक, पत्रकार कलाकार भएर पनि महिलाहरुले तहल्का मच्चाइसके, त्यसैले अवसर पाए महिलाले जे पनि गर्न सक्तछन्, पुरुषभन्दा महिला कुनै अर्थमा पनि कम छैनन् ।’ सुन्दा यो भनाइ साह्रै मिठो मात्र होइन क्रान्तिकारी र अग्रगामी पनि लाग्छ । तर यस्ता भनाई राख्नेहरुलाई थाहा हुनपर्ने हो सगरमाथा चढ्ने वा अन्तरिक्षमा पुग्ने, राष्ट्रपति हुने वा प्रधानमन्त्री हुने, वैज्ञानिक हुने वा लेखक, कलाकार र पत्रकार हुने महिला सिटको आरक्षण मागेर त्यहाँ पुगेका होइनन् ।
दृश्य लामो होइन सानो हेरे पनि पुग्छ । आजकल सार्वजनिक यातायातका साधन बस वा माइक्रोबसमा चढ्यो भने अघिल्तिरका केही सिट ‘महिला सिट’ भनेर लेखेको देखिन्छ । भलै लाज पचेका पुरुषले त्यो सिट पनि छोड्दैनन् त्यो भिन्नै कुरा भयो । तर अपाङ्गता भएका व्यक्तिहरुको लागि आरक्षण सिट ठिकै हो किन कि ऊ शारीरिक अपाङ्गता भएकाले अरु सरह उभिन सक्तैन । तर पुरुषभन्दा कुनै पनि अर्थमा कमजोर छैनौँ भन्ने नारीका लागि सिट सुरक्षण किन ? शारीरिक कमजोरी भएको महिला, साथमा बच्चा बोकेको महिला,ा वृद्ध महिला भएको कारणले नभई जतिसुकै हट्टाकठ्ठा भए पनि महिला भएकै कारणले उसले आरक्षण सिट पाउँछ भने उसले समानताको दाबी गर्नु बेकार छ ।
अर्को लिङ्ग भन्दा फरक भएकै कारण कसैले फरक सुविधा पाउँछ भने त्यहाँ असमानताको खाडल झन गहिरो हुन्छ । त्यसैले कमजोर ठानेर दिइएको आरक्षण सिट चेतनशील र सक्षम महिलाले स्वीकार गर्नु हुँदैन । हिनताबोध गर्नुपर्छ त्यस्तो सिटमाथि । बसको सिट एउटा उदाहरण मात्र हो हरेक क्षेत्रमा महिलाका नाममा जो आरक्षणको कुरा गरिँदैछ त्यसले हरेक महिलालाई तँ कमजोर होस् भन्ने मनोवैज्ञानिक सन्देश दिइरहेको हुन्छ ।
यदाकदा कुनै महिला पुरुषको सामूहिक जमघटमा पुूरुषहरुबाट सुन्ने गरिन्छ– ‘ल है लेडिजफस्ट ।’ यो ‘लेडिजफस्ट’को मतलब प्रतिस्पर्धामा ‘फस्ट’ भनेको होइन । तिमीहरु प्रतिस्पर्धा गर्न सक्तैनौ त्यसैले निगाहा बक्स गरेर हामीले तिमीहरुलाई अगाडि लगाइदिएका छौँ भनेको हो । अझ आजकल त यो निगाह मात्र होइन व्यंग्यमिश्रित निगाह हुने गरेको छ । यस्तो निगाहा बक्समा नारीले हिनताबोध गर्नुपर्ने हो आफूलाई कमजोर ठानेकोमा । तर पुरुषको निगाहालाई सम्मान ठानेर दङ्ग पर्दै अधिकांश नारीहरुबाट पनि मुसुक्क हाँस्दै पुरुषको ‘लेडिजफस्ट’लाई आफ्नो मुस्कुराहटले स्वीकार गरेको देखिन्छ । यस्तो निगाहा गरेर महिलालाई अगाडि बढाएँ भनेर पुरुषले गर्व गर्नु र महिलाले दङ्ग पर्नु भनेको विभेदको खाडल झन ठूलो पार्दै जानु मात्र हो । महिलाले यसमा सम्मान पाए भन्ने भ्रममा नपरे हुन्छ ।
कतिपय सार्वजनिक ठाउँ जहाँ लाइनमा लागेर काम गर्नुपर्ने हुन्छ त्यस्तो ठाउँमा महिला र पुरुषको छुटाछुटै लाइन लगाएको देखिन्छ । ट्वाइलेट, बाथरुम, बेडरुम, हस्पिटलको वार्ड जस्ता विशेष ठाउँमा महिला र पुरुषलाई छुट्टै गर्नु ठिकै हो । तर सार्वजनिक ठाउँमा बस्नुपर्ने लाइन महिला पुरुषको छुट्ट्रै गर्नु पटक्कै ठीक होइन । यसले पनि महिलालाई विभेद गर्दछ । लाइन लाग्ने ठाउँमा मात्र होइन कतिपय मन्दिर, सत्संग र यज्ञहरुमा समेत महिला पुरुषको छुट्टाछुट्टै ‘लङ’ बनाइएको हुन्छ, जहाँ नारी पुरुष समानताको भने ठूला ठूला महापण्डितहरुको मुखारविन्दबाट दुहाइ दिइन्छ । मैले आजसम्म इतिहास पढ्दा वा समानताका आन्दोलनको अध्ययन गर्दा महिलालाई पुरुषबाट छट्ट्याएर महिला सशक्तीकरण गरेको वा भएको भन्ने पढेको सुनेको छैन ।
आजकल महिला हिंसाका घटना बढिरहेका छन् । यस्ता हिंसाका घटनामा बलत्कार जस्तो जघन्य अपराधको घटना पनि पर्दछन् । पुरुषहरुले महिलाहरु माथि गरेका यस्ता जघन्य अपराधका घटनामा महिलाहरु एकजुट हुन्छन् र त्यसमा धेरै पुरुष अधिकारकर्मीको पनि साथ हुन्छ । तर तीतो सत्य के पनि हो भने कतिपय महिलाले व्यक्तिगत रिसइबीका कारण पनि कतिपय पुरुषमाथि बलात्कारको आरोप लगाएको र त्यस्तोमा महिलालाई अदालतले झुटो मुद्धामा सजाय गरेको समेत उदाहरण छन् । त्यसैले कोही महिलाले बलात्कारको दाबी गर्दैमा बलात्कार भएकै छ भनेर नाराबाजी गर्नु र अदालतले प्रमाणित नगरेसम्म कोहीलाई अपराधि किटान गर्नु पनि मानव अधिकारको हनन हो । महिला चाहिँ सधैँ सत्य बोल्छन् र गलत काम चाहिँ पुरुषबाट मात्र हुन्छ भन्ने भ्रम अब त्याग्नु पर्दछ । झुटो साँचो बोल्नु वा राम्रो नराम्रो काम गर्नु व्यक्तिमा भर पर्ने कुरा हो महिला र पुरुषमा भर पर्ने कुरा होइन । तीतो सत्य के हो भने सबै दाबी गरेका बलात्कारहरुमा बलात्कार भएका हुँदैनन् र अर्को पनि तीतो सत्य चाहिँ फेरि यो पनि हो कि कतिपय बलात्कार भएर पनि बलात्कारको दाबी गरिँदैनन्, जो निरिह छन् ।
महिला समानताका सवालमा आजकल थुप्रै गोष्ठी र अन्तरक्रिया हुन्छन् । मानवअधिकारकर्मीको आफ्नो समयको ठूलो हिस्सा महिला अधिकारको वकालत गर्दै बित्छ । महिलाअधिकारकर्मीको त सतप्रतिशत समय महिलाको पक्षमा वकालत गर्दैमा बित्ने नै भयो । तर अपेक्षाकृत परिणाम चाहिँ अलि कमै हात लागेको महसुस हुन्छ । परिणाम नआउनुको कारण हो कार्यक्रमको औपचारिकता । महिला अधिकारको कुरा गर्दा पनि लक्षित वर्ग पिछडिएको वर्ग नै हो तर वास्तविक पिछडिएको वर्गले न आफ्नो नाममा के के कार्यक्रम भयो भन्ने थाहा पाउँछन् न त तिनीहरुले अधिकार भनेको कुन चराको नाम हो भन्ने नै बुझेका छन् । एकाथरि महिलालाई महिला अधिकारको दुहाइ दिएर कहिल्यै फुर्सद हुुँदैन (त्यसमा पुरुषको पनि साथ हुन्छ) अर्कातिर ग्रामीण महिला जो अधिकारको ‘अ’ जान्दैनन् तिनीहरुलाई घाँस दाउरा चुलो चौको खेताला गोठाला गएर कहिले फुर्सद हुँदैन । फुर्सद दुवै वर्गका महिलालाई हुँदैन तर फुर्सद नहुनाको कारण भने फरक फरक छन् । फरक फरक व्यस्त यी दुई वर्गका महिला बीचको खाडल त महिला र पुरुषको असमानताको खाडलभन्दा ठूलो छ । तथापि न महिलाअधिकारकर्मीका चर्का नारा कहिल्यै घटेका छन् न वास्तविक नेपाली नारी जो दीनहीन जीवन बाँचिरहेका छन् तिनीहरुका दुख, पीडा, आँसु घटेका छन् ।
उल्लेखित केही उदाहरण मात्र हुन् । समानता अधिकारको नाममा यस्ता असमानताको खाडल झनै फराकिलो र गहिरो पार्ने गतिविधि बग्रेल्ती छन् । महिलालाई नै ‘कन्फ्युजन’मा पारेर चलाखीपूर्ण रुपले खनिएका यस्ता खाडलले महिलालाई झनै पछाडि धकेलिरहेको छ । यस्ता खाडल खन्नमा जानेर वा नजानेर स्वयम् महिलाहरुको पनि सक्रिय सहभागिता छ । बंगलादेशकी नारीवादी लेखिका तस्लिमा नसरिनले ‘आइमाइको हकमा’ भन्ने आफ्नो चर्चित पुस्तकमा भनेकी छिन्– ‘विगतको कुनै कालखण्डमा पुरुषहरुले आफ्नी अर्धाङ्गिनी परपुरुषको संसर्गमा जालान् भन्ने आशंकाले महिलाहरुलाई खुटामा घुँघरु लगाइदिन्थे । महिला हिँड्दा घुँघरु बज्थ्यो । आफ्नी अर्धाँङ्गिनी जता गए पनि पतिलाई घुँघरुले खबर गथ्र्यो । तर महिलाहरुलाई चाहिँ घुँघरु राम्री देखिनको लागि लगाइदिएको भन्ने भ्रम पारिएको थियो । महिलाहरु साँच्चै नै घुँघरुले आफू राम्री भएँ भन्ने भ्रममा पर्दै गए र कालान्तरमा घुँघरु गहनाकै रुपमा स्थापित भयो ।’ तसलिमाको यो भनाइमा कति सत्यता छ त्यसको ऐतिहासिक अध्ययन हुन बाँकी छ तर तसलिमाको भनाइबाट बुझ्न पर्ने कुरा चाहिँ के हो भने अनेक माया, ममता, आरक्षण र समानताको ‘लालीपब’ देखाएर महिलाहरुलाई यो समाजले कुनै न कुनै रुपमा कमजोर बनाइरहेको छ र धेरै महिलाहरु चाहिँ यही ‘लालीपब’लाई महिला सशक्तिकरण भनेर भ्रममा परिरहेका छन् । यस्तो ‘लालीपपब’को भ्रममा पर्ने र पार्नेमा अधिकांश त शिक्षित र अधिकारकर्मी महिलाहरु नै छन् ।
मोबाइल ः ९८५११०४४३३
tikaram.pokharel@gmail.com