माछो, माछो, भ्यागुतो !

Avatar photo
Dhadingpost
आइतवार, माघ ११, २०७१

tikaram pokharelमाघ ५, २०७१ । मध्यरात । सविधानसभामा भवनभित्र राजनीतिक कालरात्री । आधुनिक कोतपर्व । वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र नसोचेको दृश्यका साक्षी जनता । कालरात्रीमा दलहरु बीचको लामो समयदेखिको तिक्तताको विष्फोट । सैद्धान्तिक बहस छोडेर व्यक्तिगत आक्रमण र आरोप प्रत्यारोपको पराकाष्ठा । टेलिभिजनको स्कृनमा पत्यक्ष नदेखेको भए भनेकै भरमा पत्याउनै नसकिने दृश्य । संविधानसभा भवन संविधानसभा हो कि रणमैदान हो भन्ने कुरा छुट्ट्याउन गारो ।
स्पोर्टस च्यानलमा देखाइने रेस्लर खेल झैँ लाग्ने त्यो उन्मादी खेलका खेलाडीले बहादुरीको तक्मा आफ्नो हातमा पार्न खेल खेलेको भ्रम पाले पनि त्यो खेल ठूला पासुला भएकाले जित्ने र साना पासुला भएकाले हार्ने खेल थिएन । बरु यथार्थमा जनताका नजरमा पासुलावाल रेस्लरहरु नै हारिरहेका थिए । जनताहरु त्यो दृश्य हेर्दै सभासद पदधारी आधुनिक रेस्लरहरुलाई धिक्कारीरहेका थिए । आफ्नो मत खेर गएकोमा पछुतो मानिरहेका थिए । यद्यपि रेस्लरहरुमा जितको भ्रम थियो । तर त्यो जितको भ्रम रेस्लरहरुको आत्मरति शिवाय केही थिएन । यसरी २०७१ सालको माघ ८ ले संविधान दिएन । एउटा कलंकित इतिहास मात्र लेख्यो ।
संभवतः पछिल्लो समय राजनीतिकवृत्तमा सबैभन्दा बढी उच्चारण गरिएको शब्द हो, माघ ८ । माघ ८ कसैको लागि आक्रोश बन्यो, कसैका लागि व्यङ्ग्य । कसैका लागि सिङको लडाइँ¬ कसैका लागि बोली वचनको पक्का देखिने होडबाजी । कसैको लागि शक्ति संघर्षको हतियार कसैको लागि हाउगुजी । दृश्य अदृश्यमा विभिन्न उद्देश्य भएको यो माघ ८ को लडाइँमा ककसले केके जिते, केके पाए, केके गुमाए त्यसको लेखाजोखा हुन त बाँकी नै छ तर देश र जनताका लागि भने यस भीडन्तमा केही पनि प्राप्ति भएन । संविधानको असा माछो, माछो, भ्यागुतो भयो ।
कोही पनि भ्यागुताको शिकार गर्न चाहँदैन । शिकार माछाकै गर्छ । कहिलेकाही माछा मार्न जाल हान्दा एक दुई भ्यागुता पनि जालमा पर्नु भिन्नै कुरा हो, यो अपवाद बाहेक माछा मार्ने ठाउँमा जाल हान्दा पर्छ माछा नै । तर माछाको भ्रममा भ्यागुतको गुँडमा जाल हाने चाहिँ भागमा भ्यागुता नै भ्यागुता पर्छ । भ्यागुता नचाहेर पनि भ्यागुता नै भ्यागुता हात पार्ने उदाहरण माघ ८ लाई हेरे हुन्छ ।
दलहरु माछाको शिकारको भ्रममा यथार्थमा भ्यागुताको शिकार गरिरहेका छन् । जनतामाथि पनि माछाकै शिकार गरेको भ्रम छरिरहेका छन् । आफूले भ्यागुता शिकार गरेको कुनै दललाई थाहा छैन बरु अरु दलले भ्यागुता शिकार गरेको देखिरहेका छन् । त्यसैले सबै दल आफूले चाहिँ माछा खोजेको अरु दलले चाहिँ भ्यागुतो खोजेको आरोप लगाइरहेका छन् । आफूलाई माछा शिकारी देख्ने र अरुलाई चाहिँ भ्यागुता शिकारी देख्ने दलको दाबी जनताले भने पत्याइरहेका छैनन् । यो दृष्टिभ्रमलाई जनताले धिक्कारीरहेका छन् ।
माछा किन हात परेन ? संविधान माघ ८ मा किन बनेन ? प्रश्न जति सजिलो छ उत्तर त्यति सजिलो छैन । आमनागरिकले भन्ने गरेको चाहिँ दलहरुको अनावश्यक एजेण्डामा अडान र सत्ताकेन्द्रित राजनीति नै संविधान नबन्नुको मूल जड हो । जनताको यो बुझाइमा सत्यताको अंश छ । दलीय राजनीतिमा दलहरुले आफ्नो एजेण्डामा अडान राख्ने र सत्ता प्राप्त गर्न चाहनुलाई गलत रुपमा बुझिहाल्नु हुँदैन । राजनीतिमा अडान हुनै पर्छ तर आवश्यक परेको अवस्थामा लचक पनि हुन सक्नु पर्दछ । राजनीतिमा सत्ता सधैँ जोडिएर आउँछ । जोगी हुन राजनीति कसैले गर्दैन तर धनी हुन राजनीति पनि गरिँदैन भन्ने कुरा पनि दलहरुले बुझ्नुपर्छ । राजनीतिमा प्राप्ति मात्र होइन त्याग पनि चाहिन्छ ।
दलहरुको लिँडे अडान राख्ने र सत्ता ताक्ने खेलबाट जनता आजित भैरहेका छन् । सहमति र दुइतिहाइँको दुहाइ सुन्दा पनि जनतालाई यो शब्दप्रति नै वितृष्णा जागिसकेको छ । कालरात्रीमा एउटा पक्षको दुइ तिहाइँको तमाशा र अर्को पक्षको बाहुबलको प्रदर्शनले जनतामा झनै वितृष्णा थप्यो । संविधान बहुमतको दस्तावेज होइन भन्ने तर बहुमतभन्दा पनि तल झरेर बाहुबलका भरमा संविधान बनाउन खोज्ने एमाओवादीलगायतका दलहरुको हर्कत र संविधानमा सहमति नै चाहिन्छ भन्दै दुई तिहाइँले पेलेर अगाडि बढ्न खोज्ने कांग्रेसएमालेको हर्कत दुवै कालरात्री घटनामा दोषी देखिए ।
एमााओवादीसहितको मधेशवादी दलहरुले लिइरहको संघीयताको अडानको आक्रोश कुर्सीमाििथ पोखियो । मानौँ कि कुर्सी नै उनीहरुले चाहेजस्तो संघीयताको बाधक हुन् । तर उनीहरुको अडानमा बाधक कुर्सी र माइकहरु थिएनन् । कुर्सी र माइक भाँचेर उनीहरुका लागि चाहे जस्तो संघीयता बनाउन मार्गप्रसस्त हुनेवाला थिएन । यो वास्तविकताको बोध पनि उनीहरुलाई नभएको होइन । तर बुझ पचाइको हद भएपछि बोधले पनि केही गर्दो रहेनछ । विवेक चाहिने रहेछ । विवेकको अन्त्य भएपछि कसैको केही लाग्दैन ।
माघ ८ संविधान विना मात्र गएन, दलहरु बीच तिक्तता बढाएर गयो । सकारात्मक प्रकाश विनाको नकारात्मक राप पनि दिएर गयो । प्रकाश विनाको ज्वाला बनेर गयो यो दिन । माघ ८ लाई ठुलो हाउगुजी बनाउँदा पनि भएभरको आक्रोश पोखियो । समयसीमामा संविधान बन्नैपर्छ भन्ने अनावश्यक प्रचारले पनि दलहरु बीचको दुरी झनै बढायो । त्यसैले माघ ८ तनावको पर्यायवाची बन्यो ।
माघ ८ पछि अब के हुन्छ त भन्ने अन्यौल झनै बढेको छ । तर अन्यौलमा अल्मलिनुपर्ने कुनै कारण छैन । सहमतिको विकल्प न हिजो थियो न आज छ न भोलि हुनेछ । जुन कुराको विकल्प थिएन त्यही कुराको विकल्प खोज्नु अपरिपक्व काम थियो । अपरिपक्व कामको परिणति सकारात्मक निस्कने थिएन । निस्केन पनि । अब बितेको माघ ८ को धेरै दुहाइ दिएर काम छैन । अब मात्र भविष्यका ८ पनि माघ ८ जस्ता दिन नदोरिेऊन् भन्ने शिक्षा लिनका लागि मात्र माघ ८ संझनुपर्छ, त्यसबाहेक माघ ८ सम्झनु अब जरुरी छैन । प्रगतिका लागि विगतका असफलताभन्दा सफलता नै कामयावी हुन्छन् । त्यो अशुभ दिन त्यही दिनमात्र बनोस् फेरि नदोहोरियून, यही कामना गरौँ । माघ ९ पछि अब दलहरु नयाँ शिराबाट अगाडि बढ्नुको विकल्प छैन । विगतका तिक्ततालाई बागमतिमा नबगाई अबको बाटो सहज बन्दैन ।
माघ ८ पछिका दिनमा पनि माघ ८ अघिकै लिँडे अडान र सत्ताकेन्द्रित राजनीतिलाई निरन्तरता दिने हो भने फेरि पनि परिणाम माछो माछो भ्यागुताकै हुन्छ । यसैले दलहरु अब भ्यागुतको गुँड छोडेर माछा भएको ठाउँमा जाल हान्न पुग्नुपर्दछ । माछाको गुँड भनेको फेरि पनि सहमति नै हो । सहमतिका लागि अत्यधिक लचकता चाहिन्छ । लचकताको मापन भने कति झुकाएँ होइन कति झुकेँ भन्ने तराजुमा गर्नुपर्दछ ।
राजनीतिमा अडानले जितिँदैन बरु लचकताले जितिन्छ । मैले कसलाई कति झुकाएँ त्यो नै मेरो सफलता हो भन्ने मानसिकता त्यागी म कति लचक भएँ त्यसमा आफ्नो जित देख्न सक्नुपर्दछ । लचकतामा गर्व गर्नुपर्दछ, हिनताबोध होइन । फलेको हाँगो सधैँ झुक्दछ । जनताको विजय दलहरुको लिँडे अडानमा होइन लचकतामा छ । जुनजुन दलहरुले आफू लचक भएर जनताको संविधान बनाउने कुरामा सघाउँछन्, जनताको संविधान जनतालाई दिएर जनतालाई जिताउँछन् भविष्यमा ती दलहरुलाई जनताले पनि जिताउँछन् । दल र जनता बीच हुने यो ‘विन–विन’ सिद्धान्तलाई आत्मसाथ गर्न सके सहमति टाढा छैन । अब नयाँ शिराबाट थालनी गरौँ ।
tikaram.pokharel@gmail.com