मेरो कार्यकाल प्रिथक हुन्छ

Avatar photo
Dhadingpost
बिहिबार, माघ ८, २०७१

सवारी दुर्घटनाहरु कम गरेर जानेसंगै यात्रुहरुसंग बोलीचालीको भाषा सुधार गरेर यात्रुसंग एकदमै नजिक रहेर सहकार्य गर्ने योजनामा पुगेका छौं ।

चक्रबहादुर भण्डारी अध्यक्ष ग्रामीण यातायात हकारी संस्था लि. धादिङ
चक्रबहादुर भण्डारी
अध्यक्ष
ग्रामीण यातायात हकारी संस्था लि. धादिङ
सहकारीमा निर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ कस्तो अनुभूती गर्नुभएको छ ?
मलाई ग्रामीण यातायात सहकारी संस्थाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित गराईदिनुभएकोमा सहकारीका सदस्यहरु, यातायात संचालन गर्नुहुने यातायात व्यवसायीहरु सबैलाई धन्यवाद दिन चाहन्छु । यातायातको क्षेत्रमा काम गर्ने सहकारीमा रहेर काम गर्ने अवसर पाएको छु मेरो कार्यकाल प्रिथक हुन्छ ।
लामो समयसम्म यातायात व्यवसायको क्षेत्रमा काम गर्नुभएको छ, यातायातका क्षेत्रमा तपाईसंग कति अनुभव छ ? केही बताइदिनुस् न ?
यातायातको क्षेत्रमा अनुभवको कुरा गर्ने हो भने मसंग निकै धेरै अनुभवहरु छन् । मैले यस अघि पनि पन्ध्र वर्षसम्म काम गरिसकेको छु । मेरो पहिलेको काम पनि निकै सफल भएको छ मैले काम गर्दा आर्थिक रुपमा पनि जिरोदेखी सुरु गरेर ३५–३६ लाख आर्थिक संकलन गर्न सफल भएका थियौं आजभन्दा १५ वर्ष अगाडिको त्यो रकम निकै ठूलो हो । निकै चुनौतीपूर्ण अवस्थाबाट हामीले धादिङ यातायात व्यवसायी संघमा काम गरेका थियौं । त्यहाँ हामीहरु विभिन्न राजनीतिक दलसंग सम्वद्ध साथीहरु पनि थियौं । त्यो अवस्थामा पनि मैले कोषाध्यक्षको रुपमा आफ्नो कार्यक्षेत्रलाई चुस्त बनाउँदै लगेको थिएँ । अहिले ग्रामीण यातायात सहकारी संस्थाको अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएको छु । साथीहरुले यहाँ ल्याउनुभएको छ, सार्थीहरुबाट जुन किसिमको विश्वास पाएको छु त्यो सफलतापूर्वक सम्पन्न गर्न समेत सहयोग पाउछु भन्ने आशा लिएको छु र मेरो विवेकले भ्याएसम्म इमान्दारीपूर्वक काम गर्नेछु । मेरो अनुभवहरुलाई त्यहीँ लगाउने प्रयत्न गर्नेछु ।
आजभन्दा १५–२० वर्ष अगाडिको जोखिमको तुलनामा अहिलेको जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ भन्ने छ नि ?
यातायात क्षेत्रमा धेरै चुनौतीहरु छन्, यातायात संचालन गर्दा निकै ठूलो रकम खर्च गर्नूपर्छ एउटा गाडी किन्नकै लागि ४०–४५ लाख रुपैयाँ लगानी गर्नुपर्छ । सडक, यात्रुदेखी सरकारी नियम कानूनसम्म आउँदा चुनौती नै चुनौतीहरु छन् । गाडि दुर्घटना भएको बेलामा जुन किसिमको समस्याहरु हुन्छन् त्यहाँ गाडि तोडफोड गर्नेसम्मको जोखिम छ त्यसकारण पनि निकै धेरै चुनौतीपूर्ण क्षेत्र हो यो । यहाँ लगानीमैत्री वातावरण बनेको छैन । यातायात क्षेत्रमा काम गर्ने कानून पनि पुरानो भन्दा पुरानो छ । एउटा व्यक्तिको मृत्यू भयो भने थोरै दिनुपर्ने प्रावधान हुन्छ भने दुर्घटना भएको ठाउँमा धेरै माग्ने प्रचलन छ यसले यातायात क्षेत्रमा काम गर्नेहरुलाई अफ्ठ्यारो स्थिति सृजना भएको छ । यातायातको क्षेत्रलाई छुट्टै मन्त्रालय बनाएर कानून बनाउनुपर्ने अवस्था देख्छु । हुनत यातायात क्षेत्र सेवामुलक संस्था पनि हो, सेवमुलक संस्थामा लगानीको रिटर्न त खोज्नुपरिहाल्यो । लगानीको तुलनामा उपलब्धी कम भएको छ । त्यो अनुसारको आम्दानी गर्न सकिने स्थिति भने बनेको छैन ।
ग्रामीण यातायात सहकारी संस्था लि. ले तपाईसंग लिएको आशालाई कसरी बुझ्नुभएको छ ?
सहकारी र संस्थाका सदस्यहरुले निकै धेरै आशा लिएका हुन सक्छन् । सदस्यहरुले लगानी गरिराख्नुभएको छ । लगभग २२० जना शेयर सदस्यहरु हुनुहुन्छ । यसको मुख्यतः २ वटा चुनौतीहरु छन् । एउटा त ग्रामीण सहकारीको व्यवस्थापनलाई मजवुद बनाएर लैजानुपर्नेछ भने यसबाट यातायात संचालन गर्नुपर्ने पाटो पनि त्यस्तै छ । यातायात व्यवसायीहरुलाई पनि संरक्षण गर्नुपर्ने छ र शेयर सदस्यहरुलाई पनि संस्थागत विकास गराउनेगरी जोडेर लैजान जरुरी छ यो संगसंगै लैजानुपर्ने आजको आवश्यकता छ । मैले यो विषयमा एउटा हिम्मत गरेको छु । यसको भ्यालु घटाउन दिनुहुँदैन भन्ने पक्षमा छु । सहकारीको व्यापक प्रचार–प्रसार गरेर सदस्य वृद्धि गरेर जाने र यातायात क्षेत्रमा पनि हामीसंघ लगभग ३० वटा गाडिहरु छन् यसलाई बढाएर जिल्लाभरी नै यातायातको सेवा वृद्धि गरेर लैजाने योजना छ । नयाँ गाडिहरु थपेर उत्तरी क्षेत्रको आरुघाट, खहरे, बुढाथुम लगायतको क्षेत्रहरुमा पनि गाडि संचालन गर्नुपर्नेछ । मेरो कार्यकालमा यसमै धेरै पहल गर्नेछु र सहकारीमा लगानी गर्नुहुने शेयर सदस्यहरुलाई पनि उहाँहरुको विश्वास बढाउँदै जानेछु । सहकारी डिभिजन कार्यालयसंग पनि समन्वय गरेर जानेछौं धादिङ जिल्लाभरी कार्यक्षेत्र लिइएइको छ सहकारीमाकेही प्राविधिक कुरा नमिल्दा पनि केही कामहरु रोकिइराखेको अवस्था छ त्यसकारण हामी चाँडैनै अरु थप सेवा लिनको लागि आवश्यक प्रक्रियाहरु फुकाउँदै जानेछौं ।
साझा यातायात पछिको सहकारी मार्फत यातायात संचालन गर्ने तपाईहरुको सहकारी हो भन्ने पनि छ, यसको कुसल व्यवस्थापनको पक्षलाई कसरी हेर्नुभएको छ ?
हाम्रो सहकारीद्धारा संचालनमा ल्याएको हुनाले यसमा सहकारी सदस्यहरुको ममता छ, मायाँ छ, विश्वास छ त्यसकारण यो अरु यातायातको क्षेत्र भन्दा हाम्रो विशेषता फरक छ । हेर्नुस् न अहिले पनि हाम्रो संस्थाबाट चलेको यातायातको साधनहरुमा यात्रुहरु खचाखच नै छन् । गाडिले काम पाइरहेको छ । हाम्रा सदस्यहरुलाई आफ्नै संस्थाको गाडिमा यात्रा गर्दा हामीले केही छुट रकम दिएका छौं, त्यसलाई अझै वृद्धि गर्ने मानसिकतामा पनि छौं । अहिले हामीप्रति जुन विश्वास वढ्दै गएको छ यसलाई अझै बलियो बनाएर लैजानुपर्छ भन्ने हामी सबैको निष्कर्ष छ ।
ग्रामीण क्षेत्रमा पनि यातायातको सेवा सुचारु गर्ने तयारीमा हुनुहुन्छ भन्ने सुनिएको छ नि ?
हामीले सकेसम्म १–२ वर्षभित्रै ठूला गाडि कच्ची सडकहरुमा लैजाने सोचेका छौं । साना गाडिहरु कच्ची बाटोमा जान सक्ने अवस्था छैन । धादिङ जिल्लामा यातायात सुविधा भएका ठाउँहरु सबैमा यातायात लैजाने सोंच लिएका पनि छौं । हामीलाई यात्रुहरुले पनि साथ दिइराख्नुभएको छ । अझै साथ दिनुहुनेछ र जिल्लाभरी नै यातायात संचालन गरेर सेवा विस्तार गर्नेछौं ।
तपाईंको कार्यकालमा सहकारी संस्थालाई गर्ने केही मुख्य मुख्य कामहरुको बारेमा बताइदिनुहुन्छ ?
मुख्यतः सहकारीको सदस्य बढाउने नै हो । हामीले हाम्रो सहकारीको गतिविधिको बारेमा प्रचार–प्रसार गरेरे जाने र अहिले हुनुभएको सहकारीको सदस्यहरुमा वृद्धि गरेर जाने काम पहिलो प्राथमिकतामा राखेर गर्ने हो । मेरै कार्यकालमा यो संख्या दोव्वर बनाउनुपर्छ भन्ने लाग्छ । त्यसको साथसाथै यातायातमा जुुन किसिमका त्रुटिहरु भईरहेका छन् त्यसको सुधारमा अपुग भएको छ । चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिने अनुसासनमा बाँध्ने तथा ट्राफिक नियम पालन गर्ने गराउने हाम्रो लक्ष्यमा पर्छ । त्यसैगरी अब चाँडैनै हामीले हाम्रो संस्थाका स्टाफहरुलाई संस्थाको लोगो वितरण गर्ने चालक, सहचालक देखि सबै सदस्यहरुलाई र त्यसबापत सुविधा दिने र केही वृद्धि गरेर लैजाने त्यसैगरी सवारी धनीलाई पनि बैठकमा बोलाएर संयुक्त बैठकमा राखेर सबै विषयको जानकारी दिने र लोगो सहितको कार्ड वितरण गरेर जाने समेत निधो गरिएको छ । साथसाथै ट्राफिक नियम र सडक दुर्घटना सम्बन्धी कक्षा चलाउने योजना पनि बनाइसकिएको छ । सवारी दुर्घटनाहरु कम गरेर जानेसंगै यात्रुहरुसंग बोलीचालीको भाषा सुधार गरेर यात्रुसंगको सहकार्य एकदमै नजिक रहेर गर्ने भन्ने योजनामा पुगेका छौं ।
ट्राफिक प्रहरीसंग मिलेमतो र पैसा लेनदेनको कुरा पनि चर्चामा आउछन् तपाईहरुकोमा स्थिति कस्तो छ ?
अवस्य पनि त्यस्तो चर्चा बाहिर प्रसस्त मात्रामा आइरहेका छन् । हाम्रो यातायात संस्थाबाट संचालित भएको हुनाले प्रहरीहरुले त्यसरी काम गरेको मैले देखेको छैन । पहिले पहिले यस्ता धेरै घटना हुन्थे रे । अहिले जसले गल्ती गरेपनि कानून अनुसारको चार्ज लगाउने गरिन्छ । राज्यले त्यो व्यवस्था गरेको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा त्यो नियम आयो र त्यो पछि त झनै त्यस प्रकारको क्रियाकलाप भएको पाइंदैन । हाम्रो सहकारी र सहकारी सबैको शेयरबाट चल्ने भएकोले त्यस्तो भएको छैन ।

ट्राफिक प्रहरी वा तपाईहरु यातायात दुर्घटनाबाट जोगाउन कस्ता विषयमा समन्वय गरेर जानुहुन्छ ?
समन्यव हुनु अति आवश्यक छ । प्रहरी प्रशासन र हामी व्यवसायीहरुको विचमा त नङ र मासुको सम्बन्ध हुन जरुरी छ र भैराखेको पनि छ । यातायातको क्षेत्रमा सकेसम्म दुर्घटना नघटोस् भन्ने नै हुन्छ । फेरी सबै ठाउँमा दुर्घटना नपर्ने भन्ने हुँदैन । एउटा घटना घटेपछि हामीलाई व्यवसायीबाट कम जरिवाना तिर्नुपरोस्, चालक चाँडो छुटोस्, गाडि नबसोस् भन्ने चाहन्छन् र प्रेसर पनि त्यसरी नै गर्छन् । फेरी कानून पनि मान्नुपर्ने नै हुन्छ । त्यस प्रकारको कामहरुमा प्रहरी प्रसाशनसंग समन्वय गरेर जानुपर्छ भन्ने मलाई लाग्छ । म छलफलमा धेरै सहभागी पनि हुन्छ । हाम्रो २ वटा दायित्वहरु छन् एउटा सहकारीको र अर्को व्यवसायीहरुको दायित्व । विशेषतः व्यवसायी बलियो भए भने सहकारी पनि फस्टाउछ । म यो सबै पक्षहरुलाई ध्यान दिएर जानेछु । प्रहरीहरुले दुःख दिन्छन् भन्ने रिपोर्टहरु आएका भए पनि मेरो अघिल्ला १५ वर्षे कार्यकालमा पनि त्यस किसिमको गतिविधि भेटेको थिइनँ । सबैसंग सहयोग नै पाएको हो ।
अन्तमा केही छुटेका कुरा ?
मेरो विचारहरु राख्ने अवसर दिनुभयो यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हाम्रा जिल्लाका सबै साथीहरु हाम्रो सहकारीमा आएर शेयर सदस्य बनिदिनुस् । यसको प्रगतिको जस तपाईहामी सबैलाई हुन्छ । धादिङवासी आम समुदायलाई म संस्थागत रुपमा आग्रह गर्न चाहन्छु । सवारी धनीलाई पनि केही गुनासाहरु भए हामीकहाँ आएर राख्न आग्रह गर्छू । धन्यवाद !