कहिलेकाहीँ खाएको खाना विभिन्न कारणले गर्दा नपचेर छिन्–छिन्मै दिसाको रुपमा निस्कन सक्छ । यस अवस्थालाई पखाला लागेको भनिन्छ । साधारणतया यस अवस्थामा पेट गडबड भई दुख्नुका साथै दिसा पनि पातलो हुन्छ । निरन्तर पातलो दिसा जानाले शरीरमा पानीको मात्रा कम हुँदै जान्छ र शरीर शिथिल हुन्छ ।
दूषित पानी तथा दूषित खानाको प्रभाव र जीवाणुको कारण संक्रमण भई कुनै पनि समयमा जो–कोहीलाई यो समस्या आउन सक्छ । गर्मी मौसमको सुरुवातसँगै हैजा, आउँ, टाइफाइडजस्ता स्वास्थ्य समस्याका साथै दिसा–पखालाको सम्भावना पनि बढ्ने हुन्छ । बालबालिकामा पखालाले अन्य उमेरकालाई भन्दा नराम्रो असर पार्छ । गर्मी मौसममा विशेषतः अस्वस्थकर, खुल्ला एवम् दूषित खाना खाने समूह बढी प्रभावित हुन सक्छन् । क्षमताभन्दा बढी खाना खाएमा, खाना नपचेमा, पेट तथा सानो आन्द्रामा जीवाणुको संक्रमण भएमा पखाला लाग्न सक्छ । गर्मी मौसममा परजीवी–जीवाणुले अनुकूल वातावरण पाउने हुँदा दूषित पानी तथा खाद्यपदार्थको माध्यमबाट पखाला लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पानी एवम् अन्य खाद्यपदार्थसहित यससँग सम्बन्धित सबै कुरा स्वच्छ–सफा राख्न नितान्त जरुरी हुन्छ ।
संक्रमणको कारणले पखाला लाग्दा अकस्मात् पेट दुख्ने, बाउँडिने, टाउको दुख्ने, ज्वरो आउने तथा वाकवाक लाग्ने हुन्छ । यस प्रकारको पखालामा पातलो दिसा हुनुका साथै बान्ता पनि हुन सक्छ । बान्ता रोके तापनि पखाला एक–दुई दिनदेखि हप्तादिनसम्म पनि रहन सक्छ । यस प्रकारको पखालालाई कडा पखाला (ब्अगतभ म्ष्बचचजभब) भनिन्छ । हप्तादिन वा अझ लामो समयसम्म हुने दीर्घ किसिमको पखाला पनि हुन्छ । यस प्रकारको पखालामा खाएको खाना राम्ररी पाचन नहुने र सानो आन्द्रामा शोषण पनि नभई दिसाको रुपमा निस्कने हुन्छ । यस्तो प्रकारको पखालामा शरीरले खानाबाट आवश्यक पौष्टिक तत्त्व प्राप्त गर्न सक्दैन अनि परिमाणस्वरुप पौष्टिक तत्त्वको कमी हुन सक्छ । एकातिर पखाला लागेको अवस्थामा शरीरले खानाबाट प्राप्त पौष्टिक तत्त्वको उचित शोषण गर्न असमर्थ हुन्छ भने अर्कोतिर दिसाको साथ अत्यधिक पानी निस्कनाले शरीरमा निर्जलीकरणको समस्या हुन सक्छ ।
पखाला लागिसकेपछि निको पार्ने उपाय अवलम्बन गर्नुभन्दा यसको प्रमुख कारणबारे जानकारी राखी रोग लाग्न नदिन ध्यान दिनु जरुरी देखिन्छ । विशेष गरी पिउने पानी, पानीको मुहानको सफाइ, स्वच्छता र सुरक्षामा ध्यान दिनुका साथै दैनिक खाने खानाको सफाइ, स्वस्थता र सुरक्षामा सतर्कता अपनाउन सकेमा गर्मी मौसममा देखिने पखालाको समस्या कम गर्न सकिन्छ । बालबालिका पखालाको समस्याबाट ग्रसित हुने समूहको रुपमा परिचित छन् । तर युवावर्गमा पनि बाहिर खुला सडकमा बिक्री गर्न राखिएका खाद्यपदार्थ खाने प्रवृत्तिले गर्दा बारम्बार दिसा–पखालाको समस्या भएको पाइन्छ ।
दूषित तथा अस्वस्थकर खाना दिसा–पखालाका प्रमुख कारण भएको हुनाले खानाको व्यवस्था र खाद्यसुरक्षा विधि अवलम्बन गर्न जरुरी हुन्छ । गर्मी मौसममा दूषित खाद्यपदार्थ मात्र नभई, काँचो, राम्ररी नपाकेको, राम्ररी सुरक्षित नराखेको खाद्यपदार्थ पनि जीवाणु तथा परजीवीको लागि उपयुक्त रोग फैलाउने माध्यम भएकाले खाद्यपदार्थ, भान्छाकोठाको सफाइ, पकाउने–काट्ने भाँडो, पकाउने विधि, थन्क्याउने वातावरण आदिमा ध्यान दिन जरुरी हुन्छ । काँचो तथा राम्रारी नपाकेको मासु–अण्डाबाट साल्मोनेला इन्टेरिटाइड्स नामक जीवाणुको संक्रमण हुन सक्छ । यसले गर्दा दिसा–पखाला मात्र नभएर फुड पोइजनसमेत हुन सक्छ । यो समस्या विशेष गरी गर्मी मौसममा बढी देखिन्छ । यसै गरी राम्ररी नपखालेको फलफूल, राम्ररी नपाकेको मासुबाट ई–कोली जीवाणुको संक्रमण हुन सक्छ ।
सर्वप्रथम बजारबाट खाद्यसामग्री किनेर ल्याउँदा अपनाउने सतर्कता नै खाद्यसुरक्षा विधिको पहिलो चरण हो । खाद्यपदार्थ किन्दा ताजा र सफा हुनुपर्छ । यदि बट्टामा प्याक भएको खाद्यपदार्थ छ भने टाँसिएको लेबलमा विशेषतः सो सामग्री कुन मितिमा बनेको र कहिलेसम्म प्रयोग गर्न सकिन्छ भन्ने कुरा हेर्नु जरुरी हुन्छ । माछा–मासुको परिकार छ भने बजारबाट ल्याएपछि तुरुन्तै पकाउने व्यवस्था गर्नुपर्छ । यदि थन्क्याउने हो भने सफा पानीमा पखाली हावा नछिर्ने गरी प्लास्टिकमा बन्द गरेर फ्रिजमा राख्नुपर्छ । फलफूल किन्दा ताजा, नगलेको किन्नुपर्छ । किनकि गलेको रु चर्केको भागबाट जीवाणु प्रवेश गरी फलफूल दूषित बनाउने हुन्छ ।
रेफ्रिजरेटरमा खाना थन्क्याउँदा सर्वप्रथम तापक्रम मिलाउन जरुरी हुन्छ । बरफ जम्ने भागको तापक्रम ०० फ. (१८० से.) र अन्य खाद्यपदार्थ राख्ने भागको तापक्रम ४०० फ. (५०० से.) हुनुपर्छ । ठीक तापक्रममा खाद्यपदार्थ थन्क्याउँदा जीवाणु वृद्धि हुन पाउँदैन । रेफ्रिजरेटरको प्रयोग जीवाणु वृद्धि नियन्त्रणको लागि गरिन्छ, यसमा जीवाणु नष्ट हुने होइन । रेफ्रिजरेटरमा खाना सुरक्षित राख्दा पाकेको र काँचो खाद्यपदार्थ छुट्टाछुट्टै राख्नुपर्छ ।
फलफूल तथा तरकारी फ्रिजमा राख्नुअघि सफा पानीमा पखाल्नुपर्छ । आवश्यक परेको खण्डमा सफा ब्रसले बाहिरको भाग सफा गर्नुपर्छ । यसले गर्दा बाहिरी सतहमा टाँसिएको पेस्टिसाइड औषधि, धूलो, फोहोर हटाउन मद्दत हुन्छ । यसबाहेक फलफूल काट्ने वा सागसब्जी काट्ने सामग्री पनि सफा हुनुपर्छ । यसै गरी पकाउने व्यक्तिले पकाउनुअगाडि साबुन–पानीले हात धुनुपर्छ । पाकिसकेको खाना सफा र सुख्खा भाँडोमा खन्याउनुपर्छ ।
फ्रिजमा राखेको मासुको बरफ पगाल्न माइक्रोओभन प्रयोग गर्नु उपयुक्त हुन्छ । किनकि कोठाको तापक्रममा मासुको बरफ पग्लन दिँदा सो पग्लने अवधिमा जीवाणु वृद्धिका लागि उपयुक्त वातावरण बनिसकेको हुन्छ । त्यस्तै उपयुक्त प्रकारको पकाउने विधि चयन गर्नुका साथै ठीक तापक्रममा ठीक समयसम्म पकाउँदा इच्छाअनुरुपको स्वादिलो परिकार बन्न मद्दत पुग्छ । साथै त्यसमा भएका पौष्टिक तत्त्व सुरक्षित राखी स्वस्थकर खाना उपभोग गर्न सकिन्छ । खाना खाइकसेपछि बाँकी खाना राम्ररी छोपेर सुरक्षितरुपले थन्क्याउनुपर्छ । भान्छाकोठा पनि साबुन–पानीले सफा गरी सुख्खा राख्नुपर्छ । तरकारी काट्न प्रयोग गरेको सामग्री तथा पुछ्न प्रयोग गरेको कपडा पनि साबुन–पानीमा सफा गरी घाममा सुकाउनुपर्छ । यसरी खाद्यसामग्री किन्नेदेखि पकाउने, खाने र थन्क्याउने कार्यमा सतर्कता अपनाउन सकेमा गर्मी मौसममा पनि संक्रमण फैलिन पाउँदैन यसबाहेक बाहिर खाने प्रवृत्ति भएका विशेषतः भर्खरका युवावर्गले गर्मी मौसममा सावधानी अपनाउनुपर्ने हुन्छ । खासगरी खुल्लारुपमा बेच्ने खाद्यपदार्थ छिटो र सस्तोरुपमा उपलब्ध भए तापनि गुणस्तरीय नहुने, धूलो–धुवाँले गर्दा अस्वस्थकर हुने, पकाउने–खुवाउने भाँडो सफा नहुनाले दूषित बन्न सक्छ । यस्तो खाद्यपदार्थ खान उपयुक्त हुँदैन । गर्मी मौसममा अस्वस्थकर दूषित खानाको प्रभाव अझ बढी भएकाले दिसा–पखालाबाहेक हैजा, आउँ, जन्डिसजस्ता समस्याको सम्भावनासमेत बढ्ने हुन्छ ।
यस्तो स्थितिमा उपभोक्ता आफैं सजग भई खुल्लारुपमा बेच्न राखिएका खाद्यपदार्थको उपभोगमा परहेज गर्नुपर्छ । व्यापारीले पनि नाफाको लागि व्यापार गरे तापनि ग्राहकको स्वास्थ्यको ख्याल राखी सफा, ताजा, स्वस्थकर खाना बिक्री गर्नुपर्छ । यसबाहेक सम्बन्धित निकायले गुणस्तरको जाँचमा विशेष सतर्कता अपनाउनुका साथै यससम्बन्धी सशक्त नियम–कानुन बनाउन जरुरी हुन्छ ।
पखाला लागेको अवस्थामा दिइने खाना
पखाला लाग्दा शरीरबाट बढी मात्रामा पानी खेर जाने हुनाले बिरामीलाई सकेसम्म छिटो जीवनजल दिनुपर्छ । अथवा सफा पानीमा अलिकति नून र ग्लुकोज हाली प्रत्येक घन्टा करिब १५०–२०० मि.लि. दिनुपर्छ । कडा प्रकारको पखाला लागेको अवस्थामा ठोस खाना पूरै परहेज गर्नुपर्छ । पाखालामा केही सुधार आएपछि तरल खाना दिनुपर्छ । पानी, सादा चिया, चिल्लोरहित मही, नरिवल–पानी, उखुको रस, भातको पातलो माडमा थोरै नून हालेर दिनुपर्छ । पखाला थामिएपछि बिरामीलाई हल्का नरम खाना दिनुपर्छ । पाकेको केरा, नरम गरी पकाएको भातको जाउलो आदि दिन सकिन्छ । हल्का खाना राम्रोसँग पचाउन सक्ने भएपछि साधारण दैनिक खाने खाना दिन सकिन्छ ।
यस अवस्थामा बिरामीको खानामा रेसादार खाद्यपदार्थ– सागसब्जी, पूरै अन्य परहेज गर्नुपर्छ । यसबाहेक मसलादार र चिल्लो भएको खाना पनि पूरै बन्द गर्नुपर्छ । विशेषतः यस अवस्थामा शरीरबाट पानीको साथै सोडियम, पोटासियम तथा अन्य खनिज पदार्थ पनि नष्ट हुने भएकाले सुरुमा जीवनजल पिउन दिनुपर्छ । अवस्थामा सुधार आएपछि तरकारीको रस, सूप, दही, मही, नरिवलको रस, उखुको रस आदि दिनुपर्ने हुन्छ । यसले गर्दा शरीरबाट खेर भएको खनिज पदार्थ तथा अन्य पौष्टिक तत्त्व पूर्ति गर्न मद्दत पुग्छ ।
जीवनजल प्राप्त हुन नसकेमा
– उमालेर चिसो पारेको एक लिटर पानीमा २० ग्राम ग्लुकोज र ४० ग्राम चिनी हाली घोल तयार गर्ने ।
अथवा
– सोडियम क्लोराइड ३.५ ग्राम (आधा चिया चम्चा खाने नून), सोडियम बाइकार्बोनेट २.५ ग्राम (आधा चिया चम्चा खाने सोडा), पोटासियम क्लोराइड १.५ ग्राम (थोरै कागतीको रस) र उमालेर चिसो पारेको १ लिटर पानी मिलाएर घोल तयार गर्ने ।
यसरी तयार पारेको घोल ५–६ घन्टामा पिएर सकिने अवस्था भएमा कोठाको तापक्रममा सुरक्षित राख्न सकिन्छ । नत्र रेफ्रिजरेटरमा २४ घन्टाका लागि सुरक्षित राख्न सकिन्छ ।
बच्चामा देखिने दिसा–पखाला
– शिशुलाई पखाला लागेको अवस्थामा आमाको दूध नछुटाई निरन्तर खुवाउनुपर्छ । यसले शिशुको पखाला रोक्न मद्दत पुर्याउँछ ।
– अन्य दूध खुवाएको छ भने खुवाउने बोतल वा अन्य भाँडो वा कप तातोपानीमा उमाली सफा राख्नुपर्छ । बच्चालाई सधैँ उमालेर चिसो पारेको सफा पानी मात्र खुवाउनुपर्छ ।
– बच्चालाई नयाँ प्रकारको खाना खुवाउँदा पनि दिसा–पखाला लाग्न सक्ने हुनाले सरसफाइको साथै दिइने खानाको परिमाणलाई पनि ख्याल राख्नुपर्छ ।
निर्जलीकरणका लक्षण
पखाला लागेको अवस्थामा दिसाबाट अत्यधिक मात्रामा पानी खेर जानाले निर्जलीकरणको समस्या सृजना हुन सक्छ ।
सामान्य पखाला लागेको अवस्थामाः थकाइ लाग्ने, टाउको दुख्ने, मांसपेशी–आँखा गड्ने, पिसाब थोरै हुने, मुख–जिब्रो सुख्खा रहने हुन्छ ।
जटिल अवस्थामाः कमजोरी हुने, व्याकुल हुने, मुटुको धड्कन तेज हुने, बेहोस हुने, पिसाब ज्यादै कम हुने हुन्छ । यस्तो स्थितिको बिरामीलाई तुरुन्तै चिकित्सकीय औषधोपचारको आवश्यक पर्छ ।